प्रहरी महानिरीक्षक खनालद्वारा दर्ज्यानी चिन्ह सुशोभन

210

असार १,
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका तथा खुल्ला प्रतियोगिताबाट प्रहरी निरीक्षकमा नयाँ नियुक्ती भएका बिभागीय प्रहरी अधिकृतहरुलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नती भएका २७ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका ४९ जना तथा नयाँ नियुक्त प्रहरी निरीक्षक ७५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो । पदोन्नती भएका मध्ये एकजना प्रहरी उपरीक्षक तथा ६ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिनुभयो । संगठनको नीति र उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी दृढतापूर्वक पुरा गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिहरूप्रति कठोर भई निर्भिकताकासाथ काम गर्नुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीलाई सम्पादित कामको आधार, अनुभव र अन्य मूल्याङ्कनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने चर्चा गर्नुभयो उक्त अवसरमा पदोन्नती भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी उपरीक्षक अच्युतम प्रसाद पुडासैनीले संगठनले दिएको जिम्मेवारी संगठनको नीति अनुसार पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।