एक वर्षमा लडेर ३० जनाले ज्यान गुमाए

197
सांकेतिक तस्विर

जेठ २४,
जाजरकोट । गत चैतमा नलगाड–७ खगेनकोटकी १० वर्षीया प्रतीक्षा शर्मालाई जंगलमा बाख्रा चराउन गएका वेला माथिबाट आएको ढुंगाले लाग्यो। ढुंगाले लाग्दा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भयो। चैतमै नलसिङगाड तर्ने क्रममा काठको फड्केबाट लडेर बारेकोट–७ का ४० वर्षीय कालीबहादुर नेपालीको मृत्यु भयो।नलगाड–५ गेरेनीस्थित नलसिङगाड तर्ने क्रममा चिप्लिएर घटनास्थलमै उनको ज्यान गएको थियो। गत फागुनमा बाटोमा पैदल यात्रा गर्ने क्रममा नलगाड–५ गेरेनी भीरमा माथिबाट आएको ढुंगा लागेर बारेकोट–४ मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो। जिल्ला सदरमुकाम आउने क्रममा पैदल हिँडिरहेका बेला माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो। यी केही प्रतिनिधिमूलक घटना हुन्। अपठ्यारो बाटो, भिरालो जमिन र खोलामा भरपर्दो पुल नभएकै कारण यहाँका वासिन्दा असुरक्षित यात्रा गर्छन्। जाजरकोटमा एक वर्षमा मात्र विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको छ। जिल्लाका गाउँपालिका तथा नगरपालिकाका अनुसार एक वर्षको अवधिमा ३० जनाको ज्यान गइसकेको छ। तर जिल्ला प्रहरी कार्यालयसँग भएको तथ्यांकमा यसरी मृत्यु हुनेको संख्या १३ मात्र छ। लडेर, चिप्लिएर वा ढुंगा लागेर मृत्यु भएकाहरूको पोस्टमार्टम गर्नुपर्ने भएकाले प्रहरीलाई खबर नै नगरेर दाहसंस्कार गर्ने गरिएकाले पनि प्रहरीसँग तथ्यांक थोरै देखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्रबहादुर सिंहले बताए। दुर्गम ठाउँमा भएका कतिपय घटनाको सूचना प्रहरीसम्म आउँदैनु, सिंहले भने। ‘जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण अकालमै धेरै मानिसको मृत्यु हुने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम शाहीले बताए। ‘माथि हेर्दा पूरै पहाड मात्र देखिन्छ। तल सुसाउने नदी। हिँड्दाहिँड्दै चिप्लिएर खसिने हो कि भन्ने डरले आङै सिरिंङ्ङ हुन्छ‘,उनले भने, ुमहिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, भारी बोकेका मानिसलाई यस्ता बाटो हिँड्न निकै सकस खेप्नुपर्छ।’ जुनिचाँदे जाने बाटोमा एक वर्षमा भीरबाट खसेर तथा ढुंगा लागेर पाँच जनाको मृत्यु भइसकेको छ। जिल्ला सदरमुकामबाहेक गाउँ तथा नगरपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन। गाउँ जोड्ने गोरेटो तथा घोडेटो बाटो साँघुरो, जीर्ण र जोखिमपूर्ण हुँदा ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ। जिल्लाको सबैभन्दा जोखिमपूर्ण बाटो कालीमाटीदेखि सेपुखोलासम्म छ। नलसिंहगाड जलविद्युत् आयोजनाको १२ किलोमिटर पहुँच मार्ग निर्माण गर्ने क्रममा पुरानो बाटो बन्द भएको र नयाँ घोडेटो बाटो नबनाउँदा मानिसहरू भीरको बाटो हिँड्न बाध्य छन्।