कविताः आमा मेरी आमा

447

यमुना पराजुली अधिकारी,

पैयुडाँडाको त्यो अजङ्गको ढुङगो पनि पग्ल्यो होला
घुर्के र नकुवा खोलाको पानी पनि सुक्यो होला
तर आमा तिमी गलिनौ तिमी थाकिनौ
बैजे खेतका उत्तिसका साना पोथ्रा पनि
आकाश छुने भए होलान

डम्फे डाँडाका ति काला काला चट्टान
कति दबिए होलान धर्तीको गर्भमा
तर आमा तिमी कसै सँग दबिनौ
कतै झुकिनौ तिमी
कहिल्यै कहिल्यै थाकिनौ
चिच्याउँदा हुन झ्याउँकिरी
कराउदा हुन साँझमा भ्यागुता टरटर
सुनेकि छ्यौ कि नाई ?

मनको कुना काप्चामा डर बोकेर
निस्पट्ट अँध्यारो हँदै पारिघर पनि छोपिदा
आकाशका तारा हेर्दै कहिँ कतै
सपनाको शहर पनि सम्झिन्छ्यौ कि ?
उजाड भएर गए तिमीले लेकबेसी गरेका ठाँउहरु
दुलही भएर भित्रिँदाका क्षण

अनि सुहागन तिम्रा हात सिउँदो र गलाहरु
क्रमस छुटिदै गए प्रियहरु पति , छोराछोरी र बुहारी
अनि नातिनातिना
भित्रिएको घर कति प्यारो तिमीलाई ?

प्रत्यक थाम र निदाल सुमसुम्याउदै अतित सम्झिन्छ्यौ
अनि सन्तानलाई झै टाँस्छ्यौ छातीमा
छोराछोरी भोकै हँुदा कुटकुटिन्थ्यौ, भुटभुटिन्थ्यौ
आँफु भोकै बसेर खुवाउथ्यौ सन्तानलाइ
तर खोइ आज ? तिम्लाइ तिर्खा लाग्दा पानी दिने तिम्रो छोरो
भोक लाग्दा खान दिने तिम्री छोरी
सबै गए नौ डाँडा काटी
छन त केवल उहि बलेसी, पिँढी र आँगन
मात्र घर खम्बा , दैलो र उहि अगेनो ।