‘आमा तिम्रो’ (कविता)

250

-जानु कम्बाङ्ग लिम्बु

मधहोशी यी रातहरुले पोखेको
तिम्रो अविरल सम्झनाहरू
भित्तामा एकसुरले छ्क्छ्क्छ्क…
कराई रहने घडीको आवाजले मेट्ने भए
म ति आवाज, तिम्रो लोरी सम्झी
मस्त निदाई दिने थिएँ आमा ।

अघि भर्खरै कलिला घामका लालीहरूले
अल्पायुमै, हजारौं गोधूलिका
थुम्कोहरू उक्लि अस्ताई गए झैं
कसो कसो मैले पनि
आफ्नै मनको थुम्कोमा
तिम्रा सम्झनाका तरंगहरू
उक्लाई रहेकी छु आमा ।

झ्यालको पर्दा हल्लौंदै
भित्र छिरेको चिसो सिरेटोले
सुमसुमाउँदा, मलाई तिम्रो न्यानो
काखको आभास हुन्छ ।

त्यहाँ तिमी हाम्रो घरको अटल
फ़क्ताङ्ग्लुङ्ग बनिरहँदा
म हिउँ झैं
तिम्रो ओरिपरि रही रहन सकिन् ।

म हिड्ने बेला, श्रवाणको झरी झैं
वर्षे तिम्रो आँसु सम्झिन्दा
मेरो मनमा आज पनि हुरी चल्छ आमा ।

लाग्छ तिम्रो ओरिपरि
गुराँस भै फूली रहुँ
खोला भै बगि रहूँ
झरना भै झरि रहूँ
बादल भै उडी रहूँ
निरन्तर निरन्तर सधै सधै ।

तर, के गर्नु आमा ?
म त
गुँरास भै फूल्न नसक्ने
खोला भै बग्न नसक्ने
बतास भै उड्न नसक्ने
बादल भै आउन नसक्ने
फ़क्ताङ्ग्लुङ्ग बाट पग्लिएको हिउँ जस्तै
आँखाबाट पग्लिएर झर्ने
आँसुको थोपा सरि भएँ ।

-ताप्लेजुङ्ग हालः बेलायत