विश्व वातावरण दिवस महाअभियानका रुपमा मनाइने

243

जेठ १९,
काठमाडौँ । सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ । विशेषगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता दिई वातावरण दिवसलाई महाअभियानका रुपमा मनाउन लागेको हो । यसका लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेटमा समेत सम्बोधन गरेको छ । विश्व वातावरण दिवस जेठ २२ गते जुन ५ तारिख पर्दछ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘पोलिसी रिसर्च एण्ड एड्भोकेसी हव’ नामक संस्थाद्वारा वातावरण संरक्षणसम्बन्धी आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण दिवस वर्षमा एक दिनमात्र मनाएर पुग्दैन, वातावरण संरक्षणलाई नीति निर्माणमा राखी वर्षदिनभरि नै मनाउनुपर्नेमा जोड दिए। मन्त्री बस्नेतले वातावरण संरक्षणका लागि स्थानीय र प्रदेशलाई समेत संघमार्फत थप सहयोग गर्ने नीति रहेको चर्चा गर्दै वातावरण संरक्षणमा सरकारी, निजी, नागरिक अगुवाको सहकार्य आवश्यक रहेकामा जोड दिए । “वातावरण संरक्षण विदेशी नक्कलभन्दा आफ्नै भौगोलिक यथार्थता, व्यावहारिक पक्षलाई ध्यान दिई कार्यक्रम बनाउनुपर्छ, प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई कारवाहीको दायरामा ल्याउन लागिएको छ”, उनले भने । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधारको विकास गर्दा वन र वातावरण संरक्षण गर्न पनि ध्यान दिन आग्रह गर्दै आएको चर्चा गर्दै मन्त्री बस्नेतले यसका लागि अन्तरमन्त्रालयबीचमा छलफल भइरहेको उनले दाबी गरे । संरक्षणविद् डा।धर्मराज उप्रेतीले वन व्यवस्थापनमा नयाँ नीति अवलम्बन गर्न सुझाव दिँदै प्रदूषणले देशका प्रमुख शहरको दैनिकीलाई कष्टकर बनाउँदै लगेको बताए । वातावरणविद् डा।रविन मल्ल र डा।राजन थापाले वन संरक्षण नीतिलाई परिवर्तन गर्न सुझाव दिए ।