जेठ १७,
काठमाडौं । ७० वर्षदेखि विभाजनको पीडा झेल्दै आएको नेपाल कम्युनिस्ट पार्टी पुनर्गठित भएको छ। गएको जेठ ३ गते पार्टी एकीकरण गरेको नेकपाले मातहतका पार्टी कमिटी र जनवर्गीय संगठनहरूको समायोजन गर्नका निम्ति कार्यदल निर्माण गरी एकता प्रक्रिया अगाडि बढाएको छ। यस सन्दर्भमा नेकपाले अन्तरपार्टी निर्देशनसमेत पठाएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २१ पेज लामो अन्तरपार्टी निर्देशन पठाएका हुन्। अन्तरपार्टी निर्देशनमा जेठ ३ गते बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र ७ गते बसेको केन्द्रीय सचिवालय बैठकका निर्णयहरूको जानकारीसहित कार्यान्वयनका लागि निर्देशन गरिएको छ। पार्टी एकतापछिको नेकपाको यो पहिलो अन्तरपार्टी निर्देशन हो। निर्देशनमा पार्टी एकतालाई सबै तहका स्थानीय पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यहरूका एकतामा विस्तारित गर्नुपर्नेमा जोड दिइएको छ। पार्टी कमिटी र जनसंगठनहरू तीन महिनाभित्र एकीकरण गर्न निर्देशित गरिएको छ। स्थानीय पार्टी कमिटीहरूको एकतारएकीकरणका लागि कार्यादेशसहित कार्यदलहरू गठन गरिएको छ। यसैगरी जिल्ला संगठन कमिटीका लागि पदाधिकारी, सदस्य र सचिवालय सदस्यको नाम सिफारिस गर्ने बैठकमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला कमिटीका इन्चार्ज तथा अध्यक्ष पनि कार्यदलका सदस्यको हैसियतमा सहभागी हुनेछन्। जनवर्गीय संगठनहरूको एकतारएकीकरणका लागि कार्यादेशसहित कार्यदलहरू गठन गरिएको छ।