शिखर वार्ताको तयारी गर्न ट्रम्पका दूत पुगे उत्तर कोरिया

202

जेठ १४,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ। आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहले जनाएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि वार्ताको आवश्यक तयारी सुरु भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गर्दै भनेका छन्( अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको छ, यसले आगामी उक्त वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ। उनले यस ट्वीटमा उत्तर कोरियाको निकै प्रसंशा पनि गरेका छन्। उनले लेखेका छन्— मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ। यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ भएका छन्, यसबारे हामीले कुराकानी पनि गरिसकेका छौँ— उनले भनेका छन्। तर सो प्रतिनिधिमण्डलमा को वा कुन तहका अधिकारीहरु सहभागी छन् भन्ने बारेमा भने केही बताइएको छैन। तर अमेरिकी प्रमुख अखबार वासिङ्टन पोष्टको आइतबारको संस्करणमा उक्त भ्रमणको पुष्टि गरिएको छ। उक्त अखबारले अमेरिकी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ र उक्त देशको उत्तरी भागमा रहेको सैन्यबिहीन क्षेत्रमा दुई देशका अधिकारीहरूले भेटवार्ता थालेका छन्। त्यस वार्ता सोमबार र मङ्गलबारसम्म पनि निरन्तर रहन सक्ने पनि उक्त छापाले पुष्टि गरेको बताइएको छ।