तौलिहवा–जितपुर सडक एक महिना बन्द

231

जेठ १४,
कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर चार नम्बरसम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड एक महिनाका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नति गर्दै कालोपत्रे गरिने भएकाले एक महिनाका लागि सडक चौबिसै घण्टा बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलवस्तुका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए। तौलिहवा–जितपुर सडकको जितपुरदेखि ओदारीको विभिन्न खण्डमा कालोपत्रे हुने भएकाले सोमबारदेखि एक महिनासम्म सडक बन्द गरिएको छ। कार्यालयले उक्त बाटोको सट्टा बैकल्पिक बाटोको रूपमा गोरुसिङ्गे–तौलिहवा, बुङची–कोपवा–जहदी, पिपरा–प्रगतिनगर–ओदारीको बाटो प्रयोग गर्न यात्रु तथा सवारी धनीलाई आग्रह गरेको छ। तौलिहवाबाट जितपुर चारनम्बर, बुटवल, पोखरा, काठमाडौंका लागि छोटो दूरीको सडकको रूपमा रहेको उक्त सडक बन्द भएपछि यात्रुहरूले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता भएको छ। एक लेनको उक्त सडक जीर्ण र साँघुरो हुँदा सवारीसाधन आवागमनमा कठिनाई भइरहेपछि स्तरोन्नति गरिएको हो। डिभिजन कार्यालय प्रमुख पौडेलले भने, ‘जितपुर–तौलिहवा सडक हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण थालिएको हो।’ गत मंसिरबाट निर्माण सुरु गरिएको सडक २० महिनामा पूरा गर्ने सम्झौता भएको छ।