विकृति र सुरक्षा चुनौती बढेपछि मेला जात्रामा कडाइ

174

जेठ १०,
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले सामाजिक विकृति र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाइ गर्ने नियम बनाएको छ । हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजना गर्न अनिवार्य अनुमति लिनुपर्ने र पाँच दिनभन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । सबैजसो बस्तीमा विभिन्न चाडपर्वमा दशदेखि पन्ध्र दिनसम्म मेला जात्रा लगाउने चलनले सामुदायिक विद्यालयको पठनपाठन र शान्ति सुरक्षामा असर पारेको थियो ।

मेलाजात्रामा मदिराको अत्यधिक बिक्री वितरण, कुटपिट, बालविवाह, महिला हिंसा, झैझगडाको समस्या बढेपछि व्यवस्थित र मर्यादित बनाउन मेला तथा महोत्सव व्यवस्थापन गर्न बनेको ऐन २०७५ पारित गरिएको हो । परम्परागत र सांस्कृतिक महत्वबाहेकका एक दिनभन्दा बढी समय सञ्चालन गरिने मेला महोत्सवका लागि वडाको सिफारिशमा गाउँपालिकाको अनुमति लिएर बढीमा पाँच दिनमात्र मेला आयोजना गर्न पाउने नियम बनाइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईले जानकारी दिनुभयो ।

यसैगरी, गाउँपालिका क्षेत्रमा रहेका पसल, उद्योग, व्यापार, व्यवसायलाई कानूनी दायरामा ल्याइने भएको छ । सबै वडाका व्यवसाय दर्ता गराएर कर र कानूनी दायरामा ल्याउन लागिएको हो । व्यवसाय दर्ताका लागि रु दुई हजार शुल्क निर्धारण गरिएको छ । गाउँसभाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक १३ वटा कानून पारित गरेको छ ।