बजार नपाउँदा संकटमा राडीपाखी व्यवसाय

947

जेठ १,
जाजरकोट । बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला महिनामा छ वटा राडी उत्पादन गर्थे। माग धेरै आउने भएकाले राडी उत्पादन गर्न समस्या हुन्थ्यो। तर, पछिल्लो समय महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ। बजारमा पाइने गलैँचा, कम्बल लगायतका सामग्रीले गाउँमा उत्पादन हुँदै आएको राडीको व्यवसाय संकटमा परेको छ। यससँगै जाजरकोटमा परम्परागत रूपमा बुनिँदै आएका राडीपाखी र बख्खु लोप हुँदै गएका छन्। केही वर्षअघिसम्म यस क्षेत्रका हरेक घरमा भेडा तथा बाख्राको ऊनबाट तयार भएका कपडाको प्रयोग हुन्थ्यो। स्थानीय जनकबहादुर शाहीका अनुसार बजारमा तयारी कपडा सस्तोमा पाइने भएकाले हातले बुनेका कपडाको माग घट्दै गएको हो। यसका साथै युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु लोप हुँदै गएको शाही बताउँछन्। हिमाली क्षेत्रमा पाइने भेडाको रौँबाट ऊन तयार पारेर राडीपाखी र बख्खु बुन्ने गरिन्छ। एउटा राडी तयार पार्न करिब दश दिन लाग्ने स्थानीय रामबहादुर रावतले बताए। ‘समय पनि बढी लाग्ने र बिक्री गर्दा फाइदा नहुने भएकाले अहिले राडीपाखी र बख्खु बुन्न क्रम घट्दै गएको छ।’ पछिल्लो समय ऊनका सामग्री आफन्तलाई उपहार दिन मात्र बुन्ने गरिएको रावतले बताए। समय खर्चिएर राडीपाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले हुँदै गएको स्थानीयको भनाइ छ। पुरानो पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले यस्ता सामग्री नरुचाउने जाजरकोट उद्योग वणिज्य संघका
अध्यक्ष कर्णबहादुर खत्रीले बताए। ऊनका सामग्रीको उत्पादन घट्नुमा पहिलेजस्तो भेडा, बाख्रा पालन नहुनु पनि कारण भएको स्थानीयको भनाइ छ। पहिले एकै घरमा ३० वटाभन्दा बढी भेडा, बाख्रा हुन्थे। अहिले गाउँभरि मुस्किलले १० घर जतिले मात्र भेडा, बाख्रा पालन गर्ने गरेको बारकोट गाउँपालिका–५ का खड्क शाहीले बताए।