पक्राउ पर्दै छुट्दै नेकपाका कार्यकर्ता

172

बैशाख २९,
उदयपुर । जिल्ला अदालत उदयपुरबाट धरौटी बुझाइ तारेखमा छुटेका नेत्रविक्रम चन्द ‘विप्लव’का नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मोरङ जिल्ला अदालतमा हाजिर गराउन पक्राउ गरिएको छ। बिहीबार जिल्ला अदालत उदयपुरले धरौटी लिई तारेखमा रिहा गरेका नेकपाका केन्द्रीय तथा जिल्ला नेताहरूलाई पुनः पक्राउ गरी मोरङ जिल्ला अदालतमा हाजिर गराउन लगिएको हो। पक्राउ पर्नेमा नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राई, धनकुटा जिल्ला इन्चार्ज माधव पौडेल, तेह्रथुम जिल्ला सदस्य दिप्शन लिम्बू,सदस्य नवराज भट्टराई र कमला लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी निमित्त प्रमुख डीएसपी मेघराज अधिकारीले जानकारी दिए। उनीहरूलाई उदयपुर प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराएका थिए। ‘जिल्ला अदालत, उदयपुरले धरौटी लिई तारेखमा रिहा गरेको थियो,’ डीएसपी अधिकारीले भने, ‘रिहा भएका लगत्तै पुनः पक्राउ गरेको हो।’ उनीहरूलाई जिल्ला अदालत उदयपुरले जनही १० हजारका दरले धरौटी लिएर तारेखमा रिहा गरेरको थियो। उनीहरूलाई गत चैत ५ गते धनकुटा प्रहरीले धनकुटाको हिलेबाट पक्राउ गरी धनकुटा जिल्ला अदालतमा हाजिर गराएको थियो। अदालतको आदेशमा उनीहरू सामान्य धरौटीमा छुटेका थिए। तर, रिहा गरेलगत्तै पुनः उदयपुर प्रहरीले धनकुटाबाट पक्राउ उदयपुर ल्याएको थियो। प्रहरीका अनुसार उनीहरूलाई धनकुटामा चन्दा माग, गाउँपलिकामा जनप्रतिनिधिलाई राजीनामा दिन भन्दै चिठी आतंक मच्चाएको, मोरङ र उदयपुरमा प्रदेश तथा संघीय चुनावको विरोधमा बम विस्फोट गराएको आरोपमा पक्राउ गरिएको हो।