फेसबुक लाइभ गर्दागर्दै गोली लाग्यो (हिसां भड्कियो, भिडियो सहित)

291

वैशाख १०,
काठमाडौं । पत्रकारहरु अक्सर छिटो सूचना दिने क्रममा कुनै कार्यक्रम वा घटनाहरुको प्रत्यक्ष प्रसारण गर्छन् । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने चलन छ । यसैक्रममा निकारागुआमा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय मिडियाका अनुसार उनी पत्रकार एवम् एल मेरिदिआनो नामक कार्यक्रमको निर्देशक थिए । उनले देशको दक्षिणी ब्लुफिड्स शहरबाट फेसबुक लाइभ गरिरहेका थिए । र, त्यहिबेला गोली लाग्यो ।

सामाजिक सन्जालमा एक भिडियो भाइरल भइरहेको छ जुन एन्जेल गहोनाको भनिएको छ । भिडियोमा निलो टिसर्ट लगाएका गहोनाले प्रदर्शनकारीले मेयरको कार्यालयमा पुर्‍याएको क्षतिबारे जानकारी दिइरहेका हुन्छन् । अचानक गोली चलेको आवाज सुनिन्छ र उनी भुइँमा ढल्छन् । गोली कसले र किन चलायो भन्ने थाहा हुन सकेको छैन । एक जना सामाजिक सन्जाल प्रयोगकर्ताले लेखेका छन्, यी एन्जल गहोना हुन् । उनको मृत्यु फेसबुक लाइभ गर्ने क्रममा भयो । ब्लुफिल्ड्समा प्रहरी र प्रदर्शनकारीबीच तनाव फैलिएपछि गोली चल्छ र उनी ढल्छन् । उनी अघि लेख्छन्, एन्जेलले गोली लाग्नुभन्दा पहिले लाइभमा भनेका हुन्छन्, ‘प्रहरी आइरहेको छ र सुरक्षित हुनु जरुरी छ ।’

यो गत शनिबार दिउँसोको घटना हो । सरकारविरुद्ध निकारागुआमा भएको यस प्रदर्शनमा १० जनाको मृत्यु भएको बताइएको छ । तर मानवअधिकारसँग सम्बन्धित संगठनहरुका अनुसार मृतकको संख्या २५ भन्दा बढी छ । निकारागुआमा सामाजिक सुरक्षा र पेन्सनमा सुधारको विषयलाई लिएर गत बुधबारदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मजदुर र जागिरेहरुको पेन्सन सुविधामा पाँच प्रतिशत कटौती गरिएको विरोधमा आन्दोलन भएको हो । राष्ट्रपति डेनियल ओर्टेगाले यसमा सुधार गर्ने घोषणा गरे पनि सरकारविरुद्धको प्रदर्शन रोकिएको छैन ।