यौन शोषणको आरोपमा धार्मिक आश्रम सञ्चालक पक्राउ

214

वैशाख ८,
चितवन । धार्मिक आश्रममा रहेका अपाङ्ग भएका व्यक्तिलाई यौन शोषण गरेको आरोपमा प्रहरीले आश्रम सञ्चालकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको गणेश अपाङ धार्मिक सेवा केन्द्रका सञ्चालक विष्णुप्रसाद शर्मालाई चितवन प्रहरीले बिहीबार साँझपख पक्राउ गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० प्रभुप्रसाद ढकालले जानकारी दिए । शर्माले आश्रममै बस्दै आएका अपाङ्गता भएका किशोरी र महिलालाई यौन शोषण गरेको डीएसपी ढकालले बताए । ‘हामीलाई प्राप्त भएको सूचनामा वैशाख १ गते राति आश्रममा रहेका दुईजनालाई सञ्चालक शर्माले जबर्जस्ती करणी गरेको भन्ने छ’ डिएसपी ढकालले भने । पीडित हुनेमा एकजना १९ वर्षीया किशोरी छन् । जसको खुट्टा राम्रोसँग चल्दैन । त्यस्तै अर्को एकजना २७ वर्षीया महिला छन् । प्रहरीका अनुसार उनी बौद्धिक अपाङ्गता -सुस्त मनस्थिति भएकी महिला हुन् ।घटनापछि शुक्रबार चितवन जिल्ला प्रशासन कार्यालयमा बसेको बालकल्यण समितिको बैठकले आश्रम तत्कालै बन्द गर्ने निर्णय गरेको छ । थप अन्य विषयमा छानबिन गर्न समिति बनाएको छ ।
चितवनको महिला तथा बालबालिका कार्यालय प्रमुख शान्ताकुमारी पौडेलका अनुसार २०७३ सालको फागुनमा दर्ता भएर संस्थाले आश्रम चलाएको देखिन्छ । विधानमा धार्मिक संस्था भने पनि बोर्डमा आश्रम पनि थपेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिइन् । संस्थाको बारेमा थप बुझ्न महिला तथा बालकालिका कार्यालयका महेश पौडेलको संयोजकत्वमा समिति बनेको छ । कान्तिपुर