बैशाख ७,
काठमाडौ ।
स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै अप्सन हुनसक्छ । तर राम्रो फिल्मको खोजी हो भने हलसम्म नगएकै जाति । फिल्ममा जति सुन्दर दृश्य कैद गरिएका छन्, फिल्म भने त्यति सुन्दर बनेको छैन । न फिल्मको कथा ताजा छ, न कथा भन्ने शैली नै मनोहर छ । हिरोइन रुँदा हिरोले फकाउने, हिरोइन अपहरणमा पर्दा हिरोले बचाउने, हिरोइन हिरोसँग हुँदा बुबा छुट्टयाउन आउने १ दर्शकले सयौंपल्ट हेरिसकेका दृश्यले ‘लिलि बिली’ भरिएको छ । दर्शकलाई लोभ्याउने ताजा भनेको फिल्मको लोकेसन मात्रै हो । फिल्ममा आभाष (प्रदीप खड्का) र श्रुती (जसिता गुरुङ) को प्रेमकथा छ । प्रेमीसँग ब्रेकअप भएकी श्रुतीको भेट शौचालयमा रोइरहेको अवस्थामा आभाषसँग हुन्छ । र, फिल्मको कथा सुरु हुन्छ । बिस्तारै उनीहरु नजिक हुन्छन्, सँगै घुम्छन्, रमाइलो गर्छन् । दुईबीच अलिअलि प्रेम पलाइरहेको बेला त्यतिबेलै घरमा जसिताको ‘इन्गेज्मेन्ट’ तय हुन्छ । त्यसपछि यी दुईको सम्बन्धले कस्तो मोड लिन्छ ? दुईजनाको सम्बन्धका कारण उत्पन्न हुने घटना र परिस्थिति नै फिल्मको मूल कथा हो ।
प्रेमकथामा बन्ने यस्ता फिल्मबाट प्रायः निर्देशकको एउटै उद्देश्य हुन्छ– स्वादिलो प्रेम कहानीमार्फत दर्शकलाई रमाइलो गराउने । तर, दुःखको कुरा, यो फिल्ममा निर्देशकले भन्न खोजेको कहानी घिसिपिटी छ । खँदिलो भएन । यो फिल्म हेर्दै गर्दा सिनेमा बौद्धिक उत्पादन हो भन्ने कुरा बिर्सिएकै जाती । हिन्दी फिल्मका नियमित दर्शकले कुन सिन कहाँबाट प्रभावित हो सजिलै खुट्याउन सक्छन् । फिल्म हेर्दै गर्दा करण जोहरको ‘दिलवाले दुल्हनीया लेजाएगें’, ‘कभी अलबिदा ना कहना’, इम्तियाज अलीको ‘जब वी मेट’ लगायत हिन्दी फिल्मका दृश्यको झल्को आउँछ मज्जाले । निर्देशक मिलन चाम्स र पटकथाकार प्रदीप भारद्वाजले विभिन्न फिल्मका दृश्य जोडेर पर्दामा सुन्दर प्रेम कहानी भन्ने जुन चलाखीपूर्ण प्रयास त गरे तर त्यो दर्शकको अगाडि फ्लप भइदियो । दर्शकले फिल्ममा देखाइने दृश्यका स्रोत सजिलै खुट्याउन सक्छन् । फिल्म दृश्यभाषाको बलियो माध्यम हो । तर ‘लिलिबिली’ हर्दै गर्दा यही यथार्थलाई निर्देशकले बेवास्ता गरेको प्रष्टै देखिन्छ । सकेसम्म कम संवादको प्रयोग गर्नुलाई एउटा असल फिल्म निर्देशकको गुण मानिन्छ तर यो फिल्ममा धेरैजसो दृश्य संवादप्रधान नै छ ।
फिल्ममा विक्रमको रोल गरेका अनुपविक्रम शाहीको चरित्र चित्रण अस्वाभाविक लाग्छ । आभाष र श्रुतीप्रति जागेको बदलाको भावना एकाएक हराउनु विश्वसनीय लाग्दैन । फिल्ममा उनलाई जसरी प्रस्तुत गरिएको छ त्यो हेर्दा उनको चरित्र त्यति आवश्यक देखिँदैन । फिल्ममा सुदिप बरालको सिनेमाटाग्राफी राम्रै छ तर यति भन्दाभन्दै स्कटल्यान्ड आफैँमा सुन्दर र प्राकृतिक रुपमा धनी देश हो भन्ने यथार्थ भुल्नुहुन्न । किनभने सुन्दर दृश्य स्वाभाविक रुपमा क्यामेराले सुन्दर नै देख्छ । त्यसैले प्राकृतिक सुन्दरताले भरिएका दृश्य खिच्दै गर्दा उनले कति कलात्मकता देखाए त्यो बहसकै पाटो हो ।
यो फिल्मका अभिनेता प्रदीप आफूलाई स्टार पथमा डोर्याइरहेका अभिनेता हुन् । उनको फ्यान फलोइङ राम्रै छ । ‘प्रेमगीत’बाट उनी दर्शकको नजरमा परेका हुन् । यो फिल्ममा उनको अभिनय उन्नत छैन तर पहिलेभन्दा कम पनि छैन । आफू ‘स्टार’ हुन खोज्ने अभिनेताको असल गुण अभिनय मात्रै गर्नु होइन, राम्रो स्क्रिप्टमा काम गर्नु पनि हो । उनले फिल्म छनोटमा गम्भिरता नदेखाउने र अब पनि यस्तै फिल्म रोजिरहने हो भने उनको करिअरको ग्राफले उकालो नाप्न सक्दैन । यही फिल्मबाट अभिनयमा डेब्यु भएकी जसिता गुरुङको पहिलो प्रयास प्रशंसनीय छ तर केही–केही दृश्यमा भने उनले ‘ओभरएक्टिङ’ गरेको महसुस हुन्छ । प्रियंका कार्की आफ्नो चरित्रमा फिट छिन् । फिल्मको ब्याकग्राउन्ड म्युजिक ठीकै छ तर ठाउँ–ठाउँमा दृश्य र कथाअनुसार लय गुमाएको भान हुन्छ । यसले दर्शकलाई ‘इरिटेट’ बनाउँछ ।
दर्शकको संवेदनालाई छुनु र आत्मीय महसुस गराउन सक्नु एउटा सफल लभस्टोरी फिल्मको गुण हो । यसमा ‘लिलि बिली’ चुकेको छ । पर्दामा पात्र पटकपटक रुँदा दर्शक गलल हाँस्नु पक्कै राम्रो फिल्मको संकेत होइन । यो फिल्मको तारिफयोग्य पक्ष – नेपाली फिल्म युरोपमा छायांकन हुनु मात्र हो । सँगसँगै तीतो यथार्थ पनि छ– फिल्ममा जति खर्च गरिएको छ, नतिजा त्यसअनुसार देखिँदैन । फिल्म युरोप त पुगेको छ । त्यहाँका खोलानाला, डाँडापाखा, चिल्ला–चिल्ला सडक र सुन्दर घरहरु त देखाइएको छ तर हुनुपर्ने गुणस्तर भने हराएको छ । न कथा मौलिक छ, न कथा भन्ने शैली । अरू कुनै भाषामा डब गरेर हेरियो भने पक्कै पनि यो फिल्मलाई नेपाली भन्ने आधार रहँदैन ।
सुन्दर दृश्यहरुको भीड हुँदैमा फिल्म पक्कै राम्रो हुँदैन । तैपनि दृश्यमा रमाउने दर्शकहरु यो फिल्मबाट पक्कै रमाउलान् तर फिल्ममा बलियो कथा र प्रस्तुति खोज्नेहरु खुसी हुँदैनन् । यो फिल्म नयाँ खोलमा प्याक गरिएको पुरानै चकलेटजस्तै हो । फ्रेस लोकेसनमा खिचिएको एउटा बासी लभस्टोरी जसले नेपाली फिल्मको संख्या मात्रै बढायो । शुक्रबार साप्ताहिक