-राजकुमार लामिछाने
भो मलाइ मलजल नगर
मायाले गोडमेल नगर
निर्दयी हुरिहरुले
कोपिलामै मलाई
पारेर पत्र पत्र
बगरमा अलपत्र
छाडेको देख्दा देख्दै
कालो गुफामै म ठिक छु
म बाहिर खुल्न चाहन्न
नाइ म फुल्न चाहन्न ।
तिहार सकिएपछी सयपत्री फुल
बेवास्ताको सिकार भएर
बारिमै सडेको तिमिले भोगेकी हैनौ र
कहिल्यै नओइलाउने मखमली
त्यही थाममा एकोहोरो झुन्डिरहदा
महत्व नबुझ्नेले लुछ्दा लुछ्दा
धागो मात्र रहेको तिमिले देखिकी छैन र
डाँडाकाँडा पुस्ता फैलाउने
दुबो त्यो गलाबाट झरेपछी
उ सुकेर आफ्नै अस्तित्व हराएर
रोइरहेकी तिमिले सुने छैन र
प्रेमको प्रतीक गुलाब ।
आज प्लास्टिकको बुकेमा खुम्चिएर
बजारमा लिलामिमा भेटेकी हैनौ र
मरुभूमिमको चौरीमा रम्ने सिउडी
कौसिको गमलामा सो पिस बनेर कतै
कतै चिथोर्ने बोक्सी बनेर फ्याकिएकी
समचारहरु पढेकी छैनौ र
अनि त्यही समाजको लागि
मलाइ किन पानी पिलाइरहेकी छौ
अनि त्यही समाजको लागि
मलाइ किन जीवन दिलाइरहेकी छौ ।
त्यस्ले रोपेको यो बीउ
न तिम्रो लागि हो न मेरो लागि हो
यो उस्कै मात्र उस्कै भोग बिलासको लागि हो
तिमिलाइ जे नाम दियोस यो समाजले
दया कि खानी या त्याग कि अभिमुर्ती
यी नाम पनि यो समाजले तिमिलाइ दिएको
मात्र गर्न आफ्नो स्वार्थपूर्ति
सुन न आमा मेरो पुकार ।
मेरो हारगुहार
बिन्ती मलाइ यो दुनियामा नझार
बिन्ती मलाइ बरु गर्भमै मार
म नरपिशाचको अंगालोमा झुल्न चाहन्न
निबस्त्र अंध्यारोमा डुल्न चाहन्न
आमा नाइ म फुल्न चाहन्न ।