यो वर्ष समयमै पाठ्यपुस्तक पुग्ने विभागको दाबी

255

चैत १५,
भक्तपुर । शिक्षा विभागले विभिन्न निकायसंग सहकार्य गरेर यो वर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हात–हातमा पुग्ने तयारी गरिरहेको छ । विभागले बिहिबार पत्रकार सम्मेलन गर्दै जनक शिक्षा सामाग्री केन्द्र र निजि छपाई व्यवसायीसंग सहकार्य गरेर छपाईको काम भइरहेको जानकारी दिएको छ । शैक्षिक सत्र सुरु हुनु भन्दा अगाडि यहिँ चैत २५ गते भित्र ७७ जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पुग्ने विभागको भनाई छ । जस अनुसार कक्षा १ देखि ५ सम्मको पाठ्य पुस्तकको छपाई निजि क्षेत्रले गरिरहेको छ । यो वर्ष देखि कक्षा ५ सम्मको पुस्तक पूर्ण रंगिन हुनेछ । कक्षा ६ देखि १० सम्मको छपाई भने सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले गरको हो । निजि क्षेत्रको १७ कम्पनिले छपाईको अनुमति पाएका छन् । निजिले कक्षा १ देखि ५ सम्मको पाठ्य पुस्तक करिब १ करोड ६५ लाख सेट छाप्नु पर्ने छ । हाल करिब एक करोड सेट छपाई भइसकेको र २५ लाख तयारी हुदैं गरेको निजितर्फका संयोजक दीपक कुमार भण्डारीले जानकारी दिएका छन् । जनक शिक्षाले कक्षा ६ देखि १०सम्मको छपाई अन्र्तगत करिब ९० प्रतिशत पुस्तक सेट तयार भइसकेको जानकारी दिएको छ । कतिपय जिल्ला सदरमुकाम पाठ्य पुस्तक ढुंवानी समेत भइसकेको केन्द्रका प्रवक्ता चित्र आर्चायले बताए । वि.स २०७४ सालमा कक्षा १देखि १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ जना विद्यार्थी हुने अनुमान गरिएको छ । जसमा कक्षा १ देखि ५ सम्म मात्र ३३ लाख ५ हजार ६ सय १४ जना हुनेछन् । नेपाल सरकारले विद्यार्थी संख्याको पूर्व अनुमान गरि यो वर्षको शैक्षिक सत्रको लागि निःशुल्क पाठ्यपुस्तक शिर्षकमा २ अर्ब २२ करोड २२ हजार रुपैयाँ विनियोजन समेत गरेको शिक्षा विभागले जानकारी दिएको छ ।