बत्तीमुनिका अँध्यारा उज्यालो छर्दै

181

चैत १०,
काभ्रे । “मैले डाक्टरसँग कुराकानी गरेको छु । म कार्यक्रम सकिने बित्तिकै हिँड्छु । चिन्ता नलिनू । शिशुलाई छातीमा टाँसेर दूध चुसाउन खोजिरहनु ।।।।” महिला स्वयंसेविका रमा न्यौपाने सुत्केरी भएकी आफ्नी बुहारी उमिशा न्यौपानेलाई फोनमा जवाफ दिँदै थिइन् । उमिशाले शिरमेमोरियल अस्पताल बनेपामा दुई दिनअघि बच्चालाई जन्म दिएकी थिइन् । विस २०४६ देखि महिला स्वयंसेविकाका रुपमा सेवा दिइरहेकी अग्रणी महिला स्वयंसेविका रमाले खुशी हुँदै भनिन्, “ घरआँगनमै नयाँ स्वास्थ्य संस्थाको भवन बन्यो, उपकरण पनि भयो, नर्स पनि आउनुहोला, अब त सुत्केरी हुन धुलिखेल र बनेपा जानु पर्दैन ।” अहिले गाउँको बीचमा रहेको रविओपी स्वास्थ्य चौकीले आधारभूत स्वास्थ्य सेवालाई आवश्यक भौतिक संरचना, उपकरण, औषधि र जनशक्तिजस्ता महत्वपूर्ण व्यवस्थाले कायापलट पारेको छ । पछिल्लो सयम यही कायापलट देखेकी महिला स्वयंसेविका न्यौपानेले सुनाइन्, “गाउँकै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भएको देख्ने धोको छ, यो पनि चाँडै पूरा हुन्छ ।” विस २०७२ वैशाख महिनाको भूकम्पले सो स्वास्थ्य चौकी भवन क्षणभरमा गल्र्यामगुर्लुम ढाल्यो । नजिकैको प्रभात प्राविको साँघुरा दुई कोठाबाट सेवा शुरु भयो । दुई वर्षको अन्तरालमा स्वास्थ्य चौकीका लागि अत्याधुनिक नौकोठे प्री फ्याव भवन तयार भएको छ । उसो त स्वास्थ्य चौकीलाई सञ्चालन गर्न चाहिने सबै प्रकारका स्वास्थ्य सामग्रीसमेत यहाँ रहेका छन् । स्थानीयवासीसमेत रहनुभएका चौकीका प्रमुख सिनियर अहेव नेत्रप्रसाद सापकोटा भन्नुहुन्छ, “छिट्टै बर्थिङ सेन्टरसमेत सञ्चालनमा आउँछ, सुत्केरी हुन बनेपा र धुलिखेल जानुपर्ने अवस्था अन्त्य हुन्छ । घरआँगनमै आधारभूत गुणस्तरीय स्वास्थ्यसेवा जनताले पाउँदछन् ।” धुलिखेलबाट नजिक भएर पनि यो गाउँ स्वास्थ्य सेवाका दृष्टिले अझै दुर्गम नै बनेको छ । नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा स्वास्थ्य चौकीको नयाँ प्री फ्याव भवन, आवश्यक सामग्री एवम् उपकरणको प्रबन्ध गरिदिएपछि रविओपीका बासिन्दा औधी रमाएका छन् । भूकम्पको त्रासदीलाई बिर्संदै पुनःनिर्माणमा समेत जुटिरहेका छन् । स्थानीय समाजसेवी बलराम कोइराला भन्नुहुन्छ, “गाउँ बत्तीमुनिको अँध्यरोजस्तो बनेको छ, धुलिखेल, बनेपा शहरनजिक भएर पनि टाढा जस्तो बनेका छन्, स्वास्थ्य चौकीको नयाँ भवन, उपकरण त भए अब प्रयोगशाला, एम्बुलेन्स र चिकित्सकको दरबन्दीको व्यवस्था छिटोभन्दा छिटो हुनुपर्छ ।”