पालो कुरेर खानेपानीको जोहो

बेलामा पालो नपाउँदा खानेपानी समस्या

204

चैत १,
बागलुङ । तमानखोला गाउँपालिका–५ खुङ्खानीका बासिन्दा वर्षौंदखि खानेपानीको समस्या भोग्न बाध्य छन् । फागुनदेखि जेठसम्मको सुख्खा याममा सिङ्गो टोल एउटा धारामै भर पर्दै आएका छन् । खानेपानी लिन घण्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता रहेको स्थानीय टीका परियारले बताउनुभयो । “हिउँदमा गाउँका अधिकांश धारा सुक्छन्” उहाँले भन्नुभयो, “एक÷दुईवटा धारा चल्ने हुँदा खानेपानीको जोहो गर्नै गाह्रो छ ।” तीन सय घरधुरी रहेको खुङ्खानीमा एकमात्र मुनाखोला खानेपानी आयोजना चालु छ । हिउँदमा आयोजनाको मुहान सुक्ने हुँदा गाउँमा खानेपानीको अभाव हँुदै आएको हो । वर्षायाममा भने खानेपानीको समस्या हट्ने वडा सदस्यसमेत रहनुभएकी परियारको भनाइ छ । स्थानीय मायाकुमारी पुनले भन्नुभयो “बिहानै धारामा लाम लाग्छ, बेलामा पालो नपाउँदा गृहिणीले खानेपानी समस्याबाट बढी दुःख झेल्नुपरेको छ ।” कतिपयले आफू नभए पनि धारामा गाग्रीको पालो लाउने गरेका छन् । एक घर, एक धारा हुनुपर्नेमा खुङ्खानीवासीको अवस्था भने ठीक उल्टो छ । वडाध्यक्ष हीराबहादुर विकले नयाँ आयोजना नबनेसम्म समस्या रहिरहने बताउनुभयो । उहाँका अनुसार आयोजना बनाउन मुहानको खाँचो भने छैन । हिउँदमा पनि नियमित चल्ने मुहानबाट नयाँ आयोजना बनाउन सकिने छ ।
यसअघि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले कुनाखोरे मुहानबाट आयोजनाको सर्भेक्षण गरे पनि काम अघि बढ्न सकेको छैन । आयोजना बनाउने कुरा आश्वासनमा सीमित भएको वडाध्यक्ष विकको भनाइ छ । स्थानीय सरकारका रुपमा गाउँपालिका बनेपछि खानेपानी समस्याबाट मुक्ति पाउने आशामा गाउँले छन् । गाउँपालिकाले यो वर्ष खानेपानी आयोजना मर्मतका लागि थोरै बजेटमात्र छुट्याएको छ । आउँदो वर्ष नयाँ आयोजना निर्माणका लागि बजेट व्यवस्था गर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।
खुङ्खानी मात्र नभएर गाउँपालिकाका अन्य वडामा पनि खानेपानीको समस्या रहेको उहाँको भनाइ छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान पनि खानेपानीको समस्याबाट गुज्रिरहेको छ ।