प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्रीको भेट

250

फागुन ३०,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहजान कमालले आज शिष्टाचार भेट गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले फागुन २८ गते सोमबार भएको युएस बंगलाको विमान दुर्घटना दुःखद् भएको र घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको बताए।
प्रधानमन्त्रीका स्वकीय सचिव चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा परी बंगलादेशी नागरिकको निधन भएकामा बंगलादेशका प्रधानमन्त्री, त्यहाँको सरकार र शोकाकुल जनतामा हार्दिक समवेदना र सहानुभूति प्रकट गरे ।
मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरे । दुर्घटनालगत्तै नेपाल सरकारले उद्धार कार्यमा देखाएको तदारुकताका लागि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरिन् ।