Tuesday, September 22, 2026
Home पत्रपत्रिका दैनिक ३५ करोड राजस्व लुट !

दैनिक ३५ करोड राजस्व लुट !

156

नागरिक दैनिक /बालकृष्ण ज्ञवाली
फागुन २६,
काठमाडौं । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ।
चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन शुक्रबार मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो।
मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका थिए । नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको छ । अन्य दिनको तुलनामा शुक्रबार भएको असुली कम्तीमा पनि ३५ करोड रुपैयाँ बढी हो। यो तथ्यांकका आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यको दैनिक ३०–३५ करोड रुपैयाँ राजस्व हिनामिना हुँदै आएको आशंका गरिएको छ । यो तथ्यांकलाई आधार मान्ने हो भने वर्षमा एक खर्ब २२ अर्ब रुपैयाँ राजस्व अपचलन भएको देखिन्छ । एक वर्षमा तीन सय ६५ दिन हुने भए पनि भन्सार कार्यालय भने तीन सय ५० दिन खुल्छन्।
अर्थका एक अधिकारीका अनुसार अर्थमन्त्री खतिवडाले शुक्रबार बिहान ९ बजे भन्सार कार्यालयका उच्च अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर कडा रुपमा प्रस्तुत हुँदै भन्सार नाकाहरुमा सही ढंगबाट काम नभएको बताएका थिए। ‘अहिलेसम्म कसले के गर्‍यो त्यो मलाई मतलब छैन, अबका दिनमा सबै कामको सम्पूर्ण जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘आफ्नो जिम्मेवारी बहन नगर्ने र सदाचारमा नबस्ने कर्मचारी कारबाहीको दायराबाट उम्किन सक्ने छैनन्।’
अर्थमन्त्री खतिवडाले भन्सारमा न्यून बिजकीकरणको समस्या धेरै रहेको र कतिपय अवस्थामा सरकारले तयार गरेको सन्दर्भ मूल्यभन्दा पनि कममा सामान छुट्ने गरेको गुनासा आएको भन्दै शुक्रबारदेखि नै यस्ता गतिविधि बन्द गर्न निर्देशन दिए।
अर्थमन्त्री खतिवडाले अहिलेको सरकारबाट जनताले धेरै आशा गरेका र सरकार पनि केही गरेर देखाउने तयारीमा लागेको भन्दै तोकिएको लक्ष्यभन्दा धेरै राजस्व उठाउन दबाब दिए । ‘सरकारले तोकेको राजस्वको लक्ष्य ‘फोलर’ मात्र हो त्योभन्दा धेरै राजस्व उठ्छ र उठाउनैपर्छ’, खतिवडाले भने, ‘यो नै मेरो बटमलाइन हो।’
खतिवडाले औपचारिक व्यापारलाई प्रवद्र्धन गर्न यथार्थपरक घोषणा र सही मूल्यांकन हुनुपर्ने, राजस्व जोखिम हुनेगरी कुनै कामकारबाही भएको थाहा पाए शून्य सहनशीलता अपनाइने भन्दै भन्सार प्रमुखहरुलाई कडा चेतावनी दिए। उनले अब अर्थ मन्त्रालय सदाचारमा हिँड्ने भन्दै ‘चेन अफ कमान्ड’ तोड्ने कारबाहीको भागीदार बन्नुपर्ने बताए।
राजनीतिक नेताकार्यकर्तासँग सम्बन्ध बढाएर बलियो बनेका अर्थ मन्त्रालयका कतिपय कर्मचारीले माथिल्लो पदका अधिकारीहरुको निर्देशन नमान्ने र मनोमानी काम गर्ने प्रचलन बढेको छ । यसले सचिवहरुलाई पनि आफूमातहतका कर्मचारीलाई काममा लगाउन समस्या हुँदै आएको छ। यही समस्यालाई ध्यानमा राखेर नै अर्थमन्त्रीले ‘चेन अफ कमान्ड’ को विषय उठाएका हुन्।
राजस्व सचिव शिशिरकुमार ढुंगानाले अर्थमन्त्री खतिवडाको निर्देशनअनुसार पूरै टिम कार्य क्षेत्रमा खटिइसकेको नागरिकसँग बताए । ‘मन्त्रीज्यूको निर्देशनपछि ‘रिजल्ट’ पनि आजै ९शुक्रबार० बाट देखिन थालेको छ,’ ढुंगानाले भने, ‘विगतका दिनको तुलनामा शुक्रबारको भन्सार राजस्व करिब ३०–३५ करोड रुपैयाँले बढी उठेको छ।’
उनले भन्सार टिमले मालवस्तुको घोषणा र मूल्यांकनलाई यथार्थपरक बनाउने, प्रयोगशाला परीक्षण र क्वारेन्टाइन परीक्षण गरी गुणस्तर सुनिश्चित गरेर मात्र जाँचपास गर्ने, गस्ती परिचालन बढाएर चोरीपैठारी नियन्त्रण गर्नेजस्ता कामलाई प्राथमिकता दिएको जानकारी दिए।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीले शुक्रबार राजस्व असुली हुने कुनै विशेष दिन नभएको भन्दै अर्थमन्त्रीले निर्देशन दिएकै दिन ३५ करोड राजस्व बढेकाले विगतमा मिलेमतो गरी करोडौं रुपैयाँ राजस्व चुहावट हुँदै आएको पुष्टि भएको बताए।