पत्रपत्रिकाः सभामुखमा महरालाई अघि सार्ने वाम गठबन्धनको तयारी

150

फाल्गुन २५,
कान्तिपुर दैनिक
काठमाडौँ । वाम गठबन्धनले प्रतिनिधिसभाको सभामुख पदमा दाङ २ बाट निर्वाचित माओवादी सांसद कृष्णबहादुर महरालाई अघि सार्ने तयारी गरेको छ । दुई दलबीचको कुराकानी शुक्रबार सभामुख निर्वाचनका लागि उम्मेदवारी दिने समयसम्म नबदलिए महरा नै सभामुख बन्ने सम्भावना छ । यद्यपि शुक्रबार साँझसम्म दुवै दलले सभामुखको उम्मेदवार को हुने भन्ने औपचारिक घोषणा गरेका छैनन् । सभामुख चयनका लागि शुक्रबार सूचना दर्ता र शनिबार प्रतिनिधिसभा बैठकमा निर्वाचन गर्ने कार्यक्रम छ ।
सभामुखमा एमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङले पनि दाबी गरिरहेका छन् । दुइटा संविधानसभाको अध्यक्षको रूपमा नेतृत्व गरेको र अन्तरिम संसद्‍को सभामुखको समेत अनुभव भएकाले प्रतिनिधिसभालाई प्रभावकारी बनाउन नेम्वाङको भूमिका बलियो हुने दाबी एमालेका नेताहरूको छ । तर, दुई दलबीच एकता प्रक्रियाकै क्रममा मुख्य पदहरू बाँडफाँट गर्दा सभामुख आफूले पाउनुपर्ने माओवादीको अडान थियो । त्यही बमोजिम उसले राष्ट्रपतिको दाबी छाडेर एमालेको सिफारिसअनुसार विद्यादेवी भण्डारीलाई समर्थन गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री एमालेको भागमा परेपछि उपराष्ट्रपति र सभामुखमा माओवादी दाबी छ । ‘कसलाई कसरी अघि सार्ने भन्ने अन्तिम टुंगो भएको छैन, उम्मेदवारी दिने बेलासम्म दुवै अध्यक्षले टुंगो गर्नुहुन्छ,’एमाले उपमहासचिव विष्णु पौडेलले भने । सभामुख पदका लागि माओवादीभित्र महराबाहेक गिरिराजमणि पोखरेल, देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्तीलगायतले पनि दौडधुप गरेका छन् । तर, अध्यक्ष पुष्पकमल दाहालले समेत रुचाएका कारण महरा नै निश्चितजस्तो भएको माओवादीका एक नेताले जानकारी दिए । ‘हाम्रो दलबाटै सभामुख नै नहुने अवस्था बन्यो भने मात्रै हो, नभए महरा निश्चितजस्तै हो,’ ती नेताले भने ।