फागुन २०,
काठमाडौं । संघीय संसदका सांसदको सपथग्रहण आइतबार हुँदैछ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको तीन महिनापछि आइतबार सांसदले सपथ लिन लागेका हुन्। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको ५ बजे सपथग्रहण हुनेछ। प्रतिनिधिसभाका सदस्यले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ८० वर्षीय महेन्द्रराय यादवसँग र राष्ट्रियसभाका सदस्यले राष्ट्रियसभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टसँग सपथ लिनेछन्। त्यसअघि दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथग्रहण गर्ने कार्यक्रम रहेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो बैठक सोमबारका लागि आह्वान गरेपछि आइतबार सांसदको सपथग्रहण हुन लागेको हो। प्रतिनिधिसभामा २७५ जना सांसद रहेकोमा रेशम चौधरी पुर्पक्षका लागि थुनामा छन्। त्यस्तै, राष्ट्रियसभाका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका तीनजनाको सपथ हुने नहुने अझै टुंगो लागेको छैन। आइतबार ३३५ जना सांसदको सपथग्रहण हुन लागेको हो।














