मेलम्ची खानेपानी आयोजनाले अझै २७ किलोमिटर सडक भत्काउने

324

माघ १६,
काठमाडौं । राजधानी बासीले मेलम्चीको पानी खान अझैं केही समय कुर्नु पर्ने छ । अर्कातर्फ मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकाका थप स्थानमा पाइपलाइन विस्तारको तयारी थालेको छ । राजधानीमा जोडिनुपर्ने कूल ८५ हजार १ सय ८६ धारामध्ये ५४ हजार २ सय १७ वटा धारा जडान भैसकेको छ । आयोजनाले बिच्छ्याउनु पर्ने ६ सय ७० किलोमिटर पाइपलाइन मध्ये अहिलेसम्म ६ सय ४३ किलोमिटर पाइपलाइन बिच्छ्याइसकेको छ । बाँकी २७ किलोमिटर क्षेत्रमा छिट्टै पाइप बिच्छ्याउने काम थाल्ने तयारी भएको मेलम्ची उपआयोजना आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ । आयोजनाले कंलकीमा एक किलोमिटर सडकमा पाइपलाईन विस्तारको तयारी गरेको छ । यो सडक खण्डमा अण्डरपास निर्माण धमाधम भैरहेकाले पाइपलाईन बिच्छ्याउने काम अघि बढाउन सकिएको छैन । त्यसैगरी नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको डेढ किलोमिटर सडकमा पनि पाइपलाइन विस्तारको तयारी थालिएको छ । आयोजनाले बाँसबारीमा पनि करिब १।५ किमी सडकमा पाइपलाइन बिच्छ्याउन बाँकी रहेको र अब त्यस क्षेत्रमा काम अघि बढ्ने आयोजनाले जनाएको छ । बाँसबारीबाट हाइटतिर ट्याङकी बनाउन लागिएको स्थानसम्म पाइप विस्तारकव काम बाँकी छ । यस्तै भित्री सडकहरुमा करिब २३ किमी पाइप बिच्छ्याउने काम बाँकी छ । चाबहिल, चक्रपथ, कलङकी, कमलपोखरी, कोटेश्वर, डिल्लीबजार, नयाँ बानेश्वर, पुरानो बानेश्वरलगायतका स्थानमा भित्री सडकमा पाइपलाइन विस्तार बाँकी छ । आयोजनाले मुख्य चोहरुमा हुने पाइपको कनेक्सन जोड्न पनि बाँकी रहेको जनाएको छ । करिब ९० प्रतिशत पाइपलाइन विस्तार र संरचना निर्माणको काम सकिएकाले मेलम्चीको पानी सुन्दरीजलमा झर्नु अघि नै तयार भैसक्ने आयोजनाले दाबी गरेको छ । मेलम्ची आउनुअघि नै पाइपलाईन विस्तार सक्ने बताउदै आएको आयोजनाले मेलम्ची आउने मिति सारे जस्तै पाइपलाईन विस्तार सम्पन्न गर्ने मिति पनि सार्ने गरेको छ । असोज अगावै पाइपलाईन सक्ने बताउँदै आएको आयोजनाले अब यो काम जेठमा सक्ने जनाएको छ । आयोजनाले भित्री सडकमाहरुमा भने धमाधम पाइप बिच्छ्याइरहेको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले जानकारी दिए । निर्देशनालयका अनुसार अहिले धारा जडान कार्य धमाधम भैरहेको छ । करिब ३ तीन महिनामा पाइप बिच्छ्याउने काम सकिने प्रवक्ता ढकालले दाबी गरेका छन् । तर यहि गतिमा काम हुने हो भने समयमै सक्न कठिन हुने देखिन्छ ।