‘वामगठबन्धन तोड्न सरकार आफै लाग्यो’

228

माघ २,
भक्तपुर । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सत्ता छाड्नु पर्ने सरकार आफै वाम एकता भाड्न लागिपरेको आरोप लगाउनु भएको छ । भक्तपुरबाट नियमित रुपमा प्रकाशित हुदै आएको समय समाज साप्ताहिकको १३ औ वर्ष प्रवेश कार्यक्रममा बोल्दै उहाँले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताउनु भएको हो ।
“एमाले र माओवादी केन्द्रको एकता र संकल्प तोड्न र काँग्रेसको संलग्नतामा नयाँ सरकार बनाउने खेलमा समेत काँग्रेस नेतृत्व वर्तमान सरकार लाग्यो”–गौतमले भन्नुभयो–“निर्वाचन आयोगलाई हातमा लिएर आफ्नो कठपुतली बनाएर दुईचार दिन अझै कसरी सरकार लम्ब्याउन सकिन्छ भनेर लागेको छ ।”
उहाँले सरकार लम्ब्याउन खोज्दा काँग्रेसले जनताको नजरबाट विश्वास गुमाउँदै गएको चर्चा गर्दै उहाँले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाई राख्नुभयो ।
गौतमले भन्नुभयो–“नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संविधान सभा बैठक बोलाँछ, बैठक बस्छ, आफै नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार संचालन गछौं, जनताको बिचबाट सरकार घोषणा गर्छौ ।”
कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले भक्तपुरलाई ३ नंम्बर प्रदेशको राजधानी बन्नेमा कसैले नरोक्ने बताउनुभयो । त्यसअवसरमा माओवादी केन्द्रका सचिवालय सदस्य दीलिप प्रजापतिले नयाँ कम्युनिष्ट पार्टी निर्माणसंगै देशको विकास निर्माणले तिब्रता लिने चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सांसद रजनी जोन्छे, एमालेका केन्द्रीय सदस्य एवं चाँगु नगरपालिकाका प्रमुख सोम मिश्र, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, पुरस्कृत पत्रकार गोपीकृष्ण ढुङ्गाना, पत्रिकाका सम्पादक सोम शर्मा बजगाई, पत्रिका प्रकाशन समितिका अध्यक्ष बालमुकुन्द सुवाल लगायतले समाजलाई सहि मार्गमा लैजान र सूचना प्रवाह गर्न संचारमाध्यमले भक्तपुरमा अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।
पत्रकारदेखि सांसदसम्मलाई सम्मान
कार्यक्रममा समय समाज प्रकाशन प्रालिले पत्रकारदेखि सांसदसम्मलाई सम्मान गरेको छ । एमाले कावा अध्यक्ष गौतमले नियमित रुपमा पत्रकारितामा योगदान पुर्याए वापत अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता गोपीकृष्ण ढुङ्गानालाई दोसल्ला ओढाएर, भादगाउँले टोपी लगाईदिई नगद रु. २ हजार ५०० सहित सम्मान गर्नुभयो ।
त्यसैगरी नियमित रुपमा कथा लेखेर योगदान पुर्याए वापत पत्रकार एवं साहित्यकार रमेश गिरीलाई भादगाउँले टोपी र खादा लगाई कदर पत्र प्रदान गरी सम्मान गरेको छ । पत्रिकामा लेख लेख्दै आएका प्रकाशकुमार कार्की र शंकरबहादुर बुढाथोकीलाई कदर पत्र प्रदान गरी भादगाउँले टोपी र खादा ओढाएर सम्मान गरिएको थियो ।
भक्तपुरबाट विजयी हुने प्रतिनिधीसभा सदस्य महेश बस्नेत, प्रदेश सभा सदस्यहरु शशीजंग थापा, राजेन्द्रमान श्रेष्ठ, हरिशरण लामिछाने, प्रदेशसभा तर्फ समानुपातिक सदस्यहरु प्रतिमा श्रेष्ठ, सरस्वती बाटी र रजनी जोन्छेलाई पनि भादगाउँले टोपी, खादा ओढाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।