शिक्षकको जागिर छोडेर उपमेयरमा उम्मेदवारी

272

चैत २९,
कञ्चनपुर । नगरपालिकाको उपमेयर पदमा उठ्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिएकी छिन् । अन्य जिल्लामा पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न धेरै शिक्षकले विद्यालयबाट राजीनामा दिएका छन् । उनले महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताइन् । नेपाली काँग्रेस पार्टीबाट टिकट पाउने आशामा ढुक्क भई चुनाव प्रचारमा खटिनुभएका उहाँले विकास अभियानको नेतृत्व लिन पार्टीसँग टिकट मागेको बताइन् । टिकट पाएर चुनाव जिते शिक्षामा व्यवस्थापकीय सुधार, स्वास्थ्य सेवालाई भरपर्दो, यातायात र सञ्चार सेवालाई सहज बनाउन लागिपर्ने उनको भनाइ छ । पहिलो पटक चुनावमा भाग लिन लागेकी बोहराले कुनै कारणवश टिकट नपाए राजनीतिसँगै सामाजिक कार्यमा क्रियाशील रहने बताइन् । विसं २०४५ मा निजी स्रोतको कोटामा विद्यालयमा प्रवेश गर्नुभएका बोहराले विसं २०४९ देखि नेपाल शिक्षक संघमार्फत राजनीतिमा प्रवेश गरेकी थिइन् । यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिई तोयप्रसाद शर्मासमेत भोट माग्न थालेका छन् ।