चागुँनारायण नगरपालिकाको कार्यालयमा दुई कार्यकारी- जनता र कर्मचारी अन्यौलमा

1184

चैत २२,
भक्तपुर । नेपाल सरकारको मन्त्रिपरिषद र सङघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयलले फरक–फरक निर्णयले गर्दा भक्तपुरको चागुँनारायण नगरपालिकमा कार्यसंचालनमा समस्या भएको छ ।
स्थानीय तहको पूर्नः संरचनापछि साविकको नगरकोट र चागुँनारायण नगरपालिका गाभिएर बनेको चागुँनारायण नगरपालिकामा को कार्यकारी अधिकृत भन्नेमा जनता र कर्मचारी अन्यौलमा परेका छन् ।
मन्त्रालयको चैत ४ गतेको निर्णय अनुसार तत्कालिन चागुँनारायण नगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ भुसाललाई जिम्मेवारी तोकिएको छ ।
तत्कालीन नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कुमार कार्कीले भने मन्त्रीपरिषदले आफुलाई नै कार्यकारी तोकेको भन्दै कार्यालय छोड्न मानेका छैनन् ।
एउटै नगरपालिकाकामा दुई जना कार्यकारी अधिकृत भएपछि प्रशासनिक कार्य समेत प्रभावित भएको कर्मचारी गणेश थापाले गुनासो गरेका छन् ।
अर्का कर्मचारीले शालिकराम तिम्लिसेनाले भने ‘भुसाल सरलाई फाइल दिए कार्की सर रिसाउने कार्कीलाई दिए भुसाल रिसाउने हामीले कसरी काम गर्ने समस्या भयो ।’
मन्त्रालयले ४ गते गरेको निर्णय अनुसार कार्कीको सरुवा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा भएको उल्लेख छ । चैत ९ गतेको अर्को निर्णय अनुसार कार्कीको सरुवा सिरहा जिल्लाको मिर्चैया नगरापालिकामा भएको छ ।
मन्त्रालयको निर्णय अनुसार साविकको नगरकोट नगरपालिकामा कार्यालय भएको स्थानमा नै हालको चागुँनारायण नगरपालिकाको कार्यालय छ ।
उक्त कार्यालयमा १० गतेदेखि हाजिर भएपनि कार्कीले हाजिर गर्न नदिएपछि आफुले पुरानै फाइलमा हाजिर गरेको भुसालले संचारकर्मी समक्ष बताएका छन् ।
भुसालले भने ‘ राजेन्द्र सरले मलाई नयाँ हाजिर कापीमा हाजिर गर्न दिनु भएन मैले पुरानै मा हाजिर गरेको छु । ’
कार्कीले मन्त्रिपरिषदको निर्णय ल्याए आफुले नगरपालिका छोडेर जाने समेत भुसालले प्रष्ट पारेका छन् ।
यसरी नेपाल सरकारको एउटै निकायले फरक फरक निर्णय गर्दा आम जनताको सेवा पाउने र कर्मचारी निश्पक्ष ढंगले काम गर्ने वातावरण हुन सकेको छैन् ।