बाली बीमा, ६ सय भन्दा बढी

561

चैत १३ ,कञ्चनपुर ।
खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् । कृषि विकास कार्यालयका अनुसार हालसम्म केरा खेतीमा १२८, उखु खेतीमा ४२६, धान खेतीमा ८९ र माछामा चार गरी ६४७ किसानले बिमा गराएका हुन् ।
केरामा रु दुई करोड २९ लाख ९९ हजार, उखुमा रु १८ लाख ३९ हजार दुई सय, धानमा रु २३ लाख ९९ हजार र माछामा रु ८३ लाख २६ हजार गरी कुल रु तीन करोड ५५ लाख ९७ हजार दुई सय बराबरको बिमा गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।
“विसं २०७१ देखि केरा र उखुमा खेतीको जोखिम न्यूनीकरण गर्नका लागि किसानले बिमा गराउँदै आए पनि आव २०७२/७३ देखि मात्रै किसानले चैतेधान र माछामा पनि बिमा गराएका हुन्” – अधिकृत जोशीले भने।
खेतमा लगाइएको बालीमा आगलागी, चट्याङ, भूकम्प, बाढी, खडेरी, आँधिबेरी, रोगकिरा, जङ्गली जनावर र विषादीबाट हानिनोक्सानी भए बिमा गरिएको बालीको बिमा कम्पनीले क्षतिको मूल्याङ्कन गरी ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । बिमा गरिएको रकममध्ये २५ प्रतिशत कृषकले र ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था छ ।