मुस्ताङमा ३७, सुनसरीमा १ सय ६५ मतदान केन्द्र हुने

220

चैत ११, मुस्ताङ।
वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारिको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त सङ्ख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो । जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए। “धेरैमा आधा घन्टाको बाटोमा हामीले मतदान केन्द्र निर्धारण गरेका छौँ । सबैले मतदान गर्ने वातावरण पनि बन्दैछ”, उनले भने।
मुस्ताङमा पाँचवटा गाउँपालिकामध्ये लोमान्थाङ गाउँपालिकामा सबैभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । विभिन्न चरणमा सङ्कलन गरिएको फोटोसहितको मतदाता नामावलीबाट जिल्लामा आठ हजार पाँचसय ३७ मतदाता रहेको अधिकारी लामिछानेले जानकारी दिए। “केही दिनमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीमा हामी जुटेको छौँ, बदर मतलाई कम गराउने अभियानमा कार्यालय लागेको छ”, उनले भने।

सुनसरीमा एकसय ६५ मतदान केन्द्र

इनरुवा ः यसैबीच, स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा एकसय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा एकसय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो । चुनावको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था मजबुत बनाउने र सुरक्षाका दृष्टिले संवेदनशील हुनसक्ने स्थानको अध्ययन गरी निगरानी र सतर्कता बढाउने सन्दर्भमा समेत कार्यालय गम्भीर रहेको कार्यालयले जनाएको छ । कार्यालयले दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका गरी जिल्लामा एकसय ६५ मतदान केन्द्र तोकेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी शान्तिबहादुर अधिकारीले जानकारी दिए।