बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारद्वारा भत्र्सना

181

चैत १०, काठमाडौँ । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद् भवन अगाडि बुधबार गरिएको आतङ्ककारी हमलाको निन्दा एवम् भत्र्सना गरेका छन्।
मन्त्री डा महतले आज नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाई सो घटनाको निन्दा गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए।
उक्त सन्देशमा परराष्ट्र मन्त्री डा महतले सो आतङ्ककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरु आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गरेका छन् ।
साथै मन्त्री डा महतले नेपाली जनता र नेपाल सरकार यस्ता आतङ्ककारी घटनाका विरुद्धमा र बेलायती सरकार र बेलायती नागरिकका पक्षमा दृढतापूर्वक उभिएको पनि सो सन्देशमा उल्लेख गरेका छन्। बेलायतको राजधानी लन्डन सहरस्थित बेलायतको संसद् भवन अगाडि हिजो भएको सो आतङ्ककारी हमलामा परी पाँच जनाको ज्यान जानुको साथै अन्य ४० जना घाइते भएका छन् ।
आक्रमणमा पाँचको मृत्यु ४० घाइते भएको प्रहरीद्वारा पुष्टि
गतः बुधबार राति एक अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा १ सुरक्षाकर्मी सहित ५ जनाको ज्यान जाने गरी र करिब ४० जना घाइते हुने गरी आक्रमण गरेका थिए ।
उक्त घटना बुधवार अपरान्ह (नेपाली समय अनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उपरोक्त आक्रमण र हताहतीका घटना भएको लन्डनका महानगरीय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । कर्तब्य पालनको क्रममा ४८ बर्षीय प्रहरी अधिकृत किथ पामरको सो आक्रमणको घटनामा परी मृत्यु भएको सहायक आयुक्त रोलेले समाचारदाताहरुलाई बताए ।
किथ पामरले बेलायती प्रहरीमा पन्ध्र बर्षसम्म सेवा पु¥याएका थिए । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् ।
आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिक रुपमा खुलासा गरिसकेको छैन । तर बेलायती प्रहरीलाई आक्रमणकारीको पहिचान भएको जनाइएको छ । प्रहरी अधिकृत पामरको हत्याको तत्कालै अन्य प्रहरीले सो आक्रमणकारीलाई गोली हानी घटनास्थलमै ढालिदिएका थिए ।
यस अघि, प्रत्यक्षदर्शीका अनुसार एकजना ब्यक्ति एउटा अति तीब्र गतिको कारमा एक्लै आई संसद् भवन परिसर बाहिरको वेस्टमिन्स्टर ब्रिजको फुटपाथमा गाडीलाई जबर्जस्ती चढाएर संसद् भवन भित्र घुस्न खोजेको र सो कारले ठक्कर दिई तीनजना प्रहरीहरुलाई ठहरै पार्नुका साथै सडकमा हिँडिरहेका कम्तीमा बीस जना पदयात्रीहरुलाई घाइते बनाएको थियो ।
फुटपाथमा उक्लिएपछि सो तीब्र गतिको कारको सन्तुलन बिग्रन गएर संसद् भवन – हाउस अफ कमन्स परिसर बाहिरको बार र पर्खालमा ठोक्किन पुगी उक्त कार दुर्घटनाग्रस्त भएको तर भित्र बस्ने चालकलाई केही पनि भएको थिएन ।
अकस्मात् उक्त चालक गाडीबाट बाहिर निस्केर लामो र धारिलो छुरा निकाली वरिपरि रहेका मानिसहरु उपर जथाभावी आक्रमण गर्न थाल्यो । आक्रमणकारीको पहिलो निसानामा प्रहरी अधिकृत किथ पामर पर्न पुगे, छुराको प्रहारबाट तत्कालै ढली उनले ज्यान गुमाउन पुगेका थिए ।
उक्त आक्रमणको घटनामा अरु कसैको संलग्नता छ छैन, यसबारे पत्तो लगाउन बेलायती प्रहरी सूक्ष्मरुपले अनुसन्धानरत रहेको जनाइएको छ । (एजेन्सीको सहयोगमा)