गाउँ गाउँमा सडक पुगेपछि किसानको दैनिकी फेरियो

392

तेह्रथुम । तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे । उतिबेला प्रति केजी रु १० त बोकानी भाडा मात्र तिर्नुपथ्र्यो । त्यति टाढाको बाटो बोकाएर लगेपछि हात परेको दाममा चित्त बुझाउनुबाहेक विकल्प हुन्थेन किसानलाई । उनीहरुले भाग्य हुँदा राम्रै भाउ पाउँथे, नभए अमिलो मुख लाएर हतारमा घर फर्कनुको विकल्प पनि थिएन । बजारसम्म ल्याउन र बेच्नै समस्या भएपछि बारीमा फल्ने तरकारी र फलफूलतिर किसानको ध्यानै थिएन । कति कृषि उपज त माटोमा त्यत्तिकै फल्थे, त्यहीँ मिल्थे ।
पूर्वी पहाडका दुर्गम भेगका तिनै किसान अचेल अलैँची बेच्न दिनभर हिँडेर बजार झरेका कुरा कथाजस्तै सुनाउँछन् । उनीहरु भन्छन्, “अहिले त हामी व्यावसायिक तरकारी, फलफूल खेती र अकबरे पनि लगाउन थालेका छौँ । बजारको कुनै सुर्ता छैन । किन्ने घरै आउँछन् । नआए बिहान गयो, बेच्यो, साँझ घर फि¥यो ।”
पूर्वी पहाडका गाउँमा भइरहेकोे परिवर्तनको कारण हो यहाँको सडक सञ्जाल र त्यससँगै जोडिएर आएको मध्यपहाडी लोकमार्ग जसले उत्पादनलाई बजारसँग, गाउँलाई सहरसँग, किसानलाई उद्यमशीलतासँग र गरिबीलाई समृद्धिसँग क्रमशः जोडिरहेको छ । “पहिले यही अलैँची बेच्न पाइएला कि नपाइएला रु भन्ने चिन्ताले निन्द्रा लाग्थेन, अहिले त अदुवा र अम्लिसो पनि लगाएको छुँ, तै पनि मज्जाले सुत्छु,” इवाका कृषक राम पौडेल भन्छन्, “नाम्लो लाउनु पर्दैन, गाडी गाउँमै आउँछ ।”
छातेढुङ्गाका अर्का किसान चन्द्र तिवारीको उत्साह त यतिसम्म बढेको छ कि उनले यसपालि एक सय ५० वटा स्याउ पनि रोप्न भ्याए, आफ्नो उही खेतमा, जहाँ कुनै बेला गहुँ र मकै रोप्नुको विकल्प उनीसँग थिएन । “व्यापारी गाडी चढेर घरघरै सामान किन्न आइरहेका छन्, त्यही देखेर यसपालि स्याउ लगाएको छु, कस्तो फल्दोरैछ, हेरुँ,” उनले भने । सडक बन्दैमा आफैँ कतै पनि विकास हुँदैन । तर विकास हुनलाई सडक नभई पनि हुँदैन । फेरि सडक बन्दैमा पैसा ह्वारह्वार्ती गाउँ छिर्ने पनि होइन । त्यसैले सडक जति दुर्गमका बस्तीभित्र सम्म पस्दै जान्छ, विकासको उज्यालो पनि क्रमशः छिर्छ ।
यही रहस्य बुझेका पुर्वी पहाडी जिल्ला तेह्रथुमको दुर्गमका बासिन्दा सडक सञ्जालमा धमाधम जोडिँदै छन् । यहाँ बर्सेनि सडक सञ्जाल तीव्ररुपमा फैलिँदो छ । त्यसो त पूर्वी तराईसँग जोडिन मात्र एक दशकदेखि तड्पिरहेका यिनीहरु एकैसाथ पूर्व–पश्चिम जोडिने अभियानमा पनि छन् । पहाडै–पहाड पूर्वदेखि पश्चिमसँग नाता गाँस्ने राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गले पनि यिनीहरुलाई बजारसम्म जोडेको छ ।
पूर्वमा चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म प्रस्तावित करिब एक हजार सात सय किलोमिटर लामो लोकमार्गले तेह्रथुमका डेढ दर्जनभन्दा बढी गाउँलाई छोएको छ । सडकले छोएका छेउछाउका बस्तीको फेरिँदो मुहार र व्यावसायिक बन्ने तर्खरमा रहेका किसानले सडकले ल्याउँदै गरेको परिवर्तनको छनक दिन्छन् ।