आजदेखि प्रधानमन्त्री दाहाल एकसाता लामो चीन भ्रमणमा जादैं

240
पुष्पकमल दाहाल

चैत १०,
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण बिहीबारदेखि सुरु हुँदैछ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको बोआओतर्फ प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री दाहालले आउँदो शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने तालिका छ । भ्रमणका क्रममा नेपाल र चीनबिच कुनै सम्झौता नभएपनि यसअघि भएको व्यापार तथा बाणिज्य सम्झौता लगायतका सम्झौता कार्यान्वयन गर्न भ्रमण महत्वपूर्ण हुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । नेपाली पक्षले चार पाँचवटा सम्झौता गर्ने तयारी गरेपनि प्राविधिक कारणले यसपटकको भ्रमणमा सम्झौता नहुने उनले बताए । बोआओमा रहँदा प्रधानमन्त्री दाहालले आउँदो शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्री दाहालकी पत्नी सीता, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध स् समृद्धिका अवसर’ विषयक छलफल कार्यक्रममा प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्नुहुनेछ । त्यहिदिन चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै त्यो विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ । भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने परराष्ट्र मन्त्री महतले जानकारी दिए ।