रुकुममा बालविवाहका कारण महिलामा मानसिक समस्या

413

चैत ९,
रुकुम । बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् ।
बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ । बहुविवाह र सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका छन् ।
बालविवाहकै कारण कतिपय महिलाले आत्महत्या समेत गर्ने गरेका महिला अधिकारकर्मी मनिषा भण्डारी बताउनुहुन्छ । बालविवाह न्यूनीकरणका लागि अभिभाकलाई सचेत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अन्तर्जातीय विवाह भएमा झगडा प्रहरीसम्म पुग्ने र अन्य भए गाउँमै मिलाउने गरेको भण्डारीले बताए । गाउँमा बालविवाह भए पनि आपसी मिलेमतोमा कुरा मिलाउने तथा प्रहरीसम्म पुगे पनि लेनदेनमा कुरा मिलाउने प्रचलन रहेको छ । महिला हिंसाका ८४ उजुरी दर्ता
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवमा महिला हिंसा सम्बन्धिका ८४ वटा उजुरी दर्ता भएका छन् ।
प्रहरीका अनुसार छवटा बहुविवाह, चारवटा आत्महत्या, नौवटा जबर्जस्ती करणी, तीनवटा जबर्जस्ती करणी उद्योग र ६३ वटा घरेलु हिंसाका उजुरी गर्दा भएका छन् । बालविवाह न्यूनीकरण र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटनालाई निरुत्साहित पार्न सबैको सहयोग अपरिहार्य हुने प्रहरी नायब उपरीक्षक जिसी बताए ।