अष्ट्रेलियामा तीन नेपालीलाई हत्या आरोप

223

फागुन २४, काठमाडौं । अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान खुलेको छैन ।
प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो । फेब्रुअरी ३ मा बेलुकी ८ः२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
‘त्यहाँ पुगेपछि प्रहरीले एउटा घरमा ३९ वर्षीय एक व्यक्तिको विभत्स अवस्थामा रहेको शव फेला पार्‍यो,’ विज्ञप्तिमा भनिएको छ ।
स्थानीय गुप्तचरहरुले लगातार अनुसन्धान गरेपछि तीन नेपालीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमध्ये ४४ वर्षीय व्यक्तिलाई डाभोरेन पार्कबाट र ४८ वर्षीयलाई एलिजाबेथ नर्थबाट पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई आज एलिजाबेथ म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइयो र हिरासतमा राख्ने अनुमति लिइयो । तीन जनामध्ये कसैले पनि धरौटीका लागि निवेदन नदिएको समाचारमा जनाइएको छ ।
जारी प्रहरी अनुसन्धान प्रभावित नहोस् भनेर पक्राउ परेका तीन नेपालीको परिचय अदालतले गोप्य राखेको छ ।