बाटोबाटै ५९ भारतीय कमाण्डो बेपत्ता

205

एजेन्सी । भारतमा एक साथ ५९ कमाण्डो बेपत्ता भएपछि व्यापक हल्लीखल्ली मच्चिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार केन्द्रीय रिजर्ब पुलिस बल (सीआरपीएफ) का ५९ कमाण्डो सामूहिक रुपमा बेपत्ता भएका हुन् । उनीहरु आइतबार राति मुगलसराय स्टेशनबाट बेपत्ता भएको बताइएको छ । उनीहरु जम्मू–कश्मिरको श्रीनगरस्थित प्रशिक्षण केन्द्रमा पाँच साता लामो आधारभूत तालिम लिएर फर्किएका थिए । उनीहरु गयास्थित २०५ औं कोब्रा युनिटको मुख्यालयमा दाखिल हुनुपर्ने थियो । तर मुगलसराय स्टेशनबाट उनीहरु बेपत्ता भएका हुन् । केही संचारमाध्यमले उनीहरु आ–आफ्नो घर गएको जनाएका छन् । उनीहरुले आफ्नो टोलीको कमाण्डरलाई जानकारी नदिइ यात्रा स्थगन गरेर अन्यत्र गएको भन्दै सीआरपीएफले ‘अनधिकृत अनुपस्थिति’ बारे कोर्ट अफ इन्क्यायरी गर्ने जनाएको छ । सुरक्षा अधिकारीका अनुसार ती कमाण्डो जवानहरु सोमबार कोब्रा युनिटको मुख्यालयमा पुग्नुपर्ने थियो । उनीहरुलाई बिहारको नक्सल प्रभावित क्षेत्रमा तैनाथ गर्ने तयारी थियो । प्रशिक्षकसँग ती कमाण्डोको सम्पर्क भएको बताइएको छ । उनीहरुमध्ये धेरैजसो आफ्नो घरपरिवार र आफन्तलाई भेट्न गएको र चाँडै फर्कने जवाफ दिएको जनाइएको छ ।