अब खम्बामा विज्ञापन टाँस्नेलाई महानगरले कारवाही गर्ने

191

माघ २१,
काठमाडौँ । बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले पक्राउ गरेको छ । कामपा, राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, सर्वाेच्च अदालत अगाडि हुँदै पुतली सडक क्षेत्रसम्मका बिजुलीका खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित कोरियाली भाषा पाठशालाका सञ्चालक दीपक राउत र डिफेन्स क्यारियर एकेडेमीका सञ्चालक प्रमोद ढुङ्गाना हुन् । सादा पोसाकमा खटिएका महानगरीय प्रहरीले तिनलाई पक्राउ गरेको थियो । दुवै कम्पनीलाई टाँसिएको विज्ञापन निकाल्न लगाई रु १५ हजार जरिवाना गराउने तयारी कामपाले गरेको छ । राजस्व नतिरी गैरकानुनी रुपमा विज्ञापन गर्ने र सहरको सुन्दरतासमेत बिगार्ने गरी गरिएका विज्ञापनदातालाई अब फोहरमैला व्यवस्थापन ऐन, २०६८ को प्रावधानअनुसार कारबाहीको दायरामा ल्याउने काम सुरु भएको छ । विसं २०७२ मा सर्वाेच्च अदालतले पनि सार्वजनिक स्थानमा सुन्दरता बिगार्ने गरी विज्ञापन टाँस्न नदिन आदेश गरिसकेकाले आदेश विपरीतको काम कुनै पनि हालतमा गर्न नदिने अठोट कामपाले गरेको छ ।