आज शहीद दिवस मनाइँदै

155

माघ १६,
काठमाडौं । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै आइतबार देशभर शहीद दिवस मनाइँदै छ । वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो । १९९७ साल माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गग्ाांलाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । निरंकुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिएका छन् । यसैगरी राष्ट्रपति भण्डारीले ज्ञातरअज्ञात शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै नेपालका विभिन्न राजनीतिक आन्दोलनमा शहीदहरुले निर्बाह गरेको भूमिकाको स्मरण गरेकी छन् । संविधानसभाबाट संविधान जारी भएसँगै शहीदहरुको सपना पूरा हुँदै गएको उल्लेख गर्दै उनले देशमा अब आर्थिक विकास गर्न सबै एक भएर लाग्नु पर्ने बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसको अवसरमा शुभकामना बक्तव्य जारी गर्दै शान्ति र विकाससहितको समुन्नतीका लागि सबैमा सहकार्य गरेर अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । नेपालका विभिन्न राजनीतिक आन्दोलन सफल बनाउन शहीदहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त राजनीतिक उपलब्धी जोगाउँन राजनीतिक दलहरु एक हुनु पर्ने उल्लेख गरेका छन् ।