फार्मेसी बन्द हुँदा बिरामी मर्कामा

237

ताप्लेजुङ । ताप्लेजुङको जिल्ला अस्पताल फार्मेसी बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । फर्मेसीमा कार्यरत कर्मचारी रेसा लावती घरायसी कामले पाँच दिनदेखि बिदा रहेको र फार्मेसी खोल्ने अन्य फर्मासीस्ट नहुँदा अस्पताल परिसरमा रहेको फार्मेसी बन्द भएको हो । अस्पतालका बिरामीलाई सुपथ मुल्यमा औषधि बिक्रिका लागि अस्पताल विकास समितिद्वारा सञ्चालित फार्मेसी बन्द हुँदा सेवाग्राही बाहिर रहेका क्लिनिकबाट महंगोमा औषधि खरिद गर्न बाध्य भएका छन् । अस्पताल विकास समितिले फार्मेसीमा एक जना मात्र फर्मासीस्ट नियुक्ति गरेकाले बेलाबेलामा फार्मेसी बन्द हुँदै आएको छ । अस्पताल विकास समितिले अस्पतालका विभिन्न सेवामा शुल्क लिए पनि बिरामीलाई भने सेवा नदिएको स्थानीयले गुनासो गरेका छन् । अस्पतालमा लिएको सेवा शुल्कबापतको रकम र औषधि बिक्रिबाट आएको नाफाले फार्मेसीमा पर्याप्त कर्मचारी राख्न पुग्ने देखिए पनि विकास समितिले बेवास्ता गरेको कारण सेवाग्राहीले दुःख पाएको स्थानीयले गुनासो गरे । अस्पतालको फार्मेसीले हरेक औषधिमा दश प्रतिशत छुट दिँदै आएको छ ।