Thursday, November 19, 2026
Home राजनीति एमालेको राष्ट्रिय भेला सकियो

एमालेको राष्ट्रिय भेला सकियो

1

काठमाडौं– नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २-३ गते कार्की बैंक्वेट काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ ।

भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने सङ्कल्प गरेको छ । भेलामा अध्यक्ष कमरेड केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’का सम्बन्धमा, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष विष्णु पौडेलले ‘एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ सम्बन्धमा र महासचिव शंकर पोखरेलले ‘पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गरेका थिए ।

अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ बारे सहभागीहरुलाई मार्गनिर्देशको क्रममा पार्टीले बेहोरेको धक्का चुनावी परिणामबाट मात्र नभई सरकार अपदस्त गरेदेखि सुरु भएको बताए । लोकतन्त्रको वापसीका लागि जनता पुनर्जागरणको नेतृत्व एमालेले गर्ने अध्यक्षले बताए ।