Tuesday, November 3, 2026
Home समाचार चाँगुनारायण नगरपालिकाद्धारा मित्रश्री पाठशाला सम्मानित

चाँगुनारायण नगरपालिकाद्धारा मित्रश्री पाठशाला सम्मानित

3

भक्तपुर । चाँगुनारायण नगरपालिकाले बीईई र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुलाई सम्मानित गरेको छ । सो अवसरमा वडा नं.२ दुवाकोट मोडमा रहेको मित्रश्री पाठशाला सम्मानित भएको छ । गत शैक्षिक सत्रमा बीईई र एसईईमा उत्कृष्ट नतिजा ल्याएपछि विद्यालय सम्मानित भएको हो । शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८)को परीक्षा बिर्ईई तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिपिए ४ सहित उत्कृष्ट नतिजा हासिल गर्दै दुवै परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा मित्रश्री पाठशाला चाँगुनारायण नगरपालिकाबाट सम्मानित भएको छ ।

उक्त अवसरमा ४ जीपीए ल्याउने मित्रश्री पाठशालाका विद्यार्थी अमीर थिङ बीईई परीक्षामा ४ जीपीए रोज बस्नेतलाई पनि सम्मान गरिएको थियो । समारोहमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी र शिक्षा शाखा प्रमुख जनार्दन रिजालले मित्रश्री पाठशालाका प्रीन्सिपल , बिब्यस अध्यक्ष तथा सम्मानित विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको थियो । विद्यालयको निरन्तर मेहनत, प्रभावकारी शिक्षण सिकाई, शिक्षकहरूको समर्पण, विद्यार्थीको लगनशीलता तथा अभिभावकको सहयोगबाट प्राप्त यस सफलताले मित्रश्री पाठशालाको शैक्षिक गुणस्तर र प्रतिवद्धतालाई थप उजागर गरेको अतिथिहरुको भनाई रहेको छ ।

सो अवरसमा सम्मानित विद्यार्थी रोज बस्नेतले सबै भन्दा ठूलो आफुमा बिश्वास गर्नु र डरलाई जित्नु महत्वपूर्ण हुने बताउदै यो उपलब्धीको लागि योग्य बनाउने सम्पुर्ण शिक्षक, विद्यालय र अभिभावकलाई श्रेय दिनुभयो । भक्तपुरमा उत्कृष्ट शैक्षिक तथा अतिरिक्त क्रियाकलापको केन्द्रको रुपमा रहेको विद्यालयलाई यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न थप ऊर्जा, प्रेरणा र जिम्मेवारी प्रदान गरेको मित्रश्रीका प्रीन्सिपल दिपक बिष्टले बताउनु भयो ।

कक्षा ८ को बीईई र एसईईमा दुवैमा शतप्रतिशत नतिजा हासिल गर्नुका साथै दुवैमा मा ४ जीपीए प्राप्त गर्न सफल मित्रश्री पाठशाला चाँगुनारायण नगरपालिका क्षेत्रकै एक मात्र विद्यालय हो । नगरपालिकाद्वारा आयोजित सम्मान समारोहमा नगर क्षेत्रका ४ जीपीए प्राप्त गर्ने अन्य विद्यार्थी, शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।