भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मोडुलर आइसियु सेवा शुरु भएको छ । सो सेवाको बिहावार एक समारोहका बीच मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख एवम् अस्पताल संचालक समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले आफु निर्वाचित भएर आएदेखि नै अस्पतालमा सेवा लिन आउने विरामीले गुणस्तरीय सेवा पाउन भन्ने उदेश्यले काम गरिरहेको बताए । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मुलुककै नगरपालिकाबाट सञ्चालित सबैभन्दा सुविधासम्पन्न अस्पताल बनेको उल्लेखगर्दै नगर प्रमुख श्रेष्ठले यो अस्पताल विमा क्लेम गर्ने पाँचौं ठुली अस्पताल बन्नु आफैमा गौरवको कुरा भएको बताए।
सेवा सुविधामा बृद्धी र सेवामा गुणस्तरीयताकै कारण अस्पतालमा बर्सेनि विरामी बढ्ने क्रममा रहेको नगर प्रमुख श्रेष्ठको भनाई थियो। बिरामीको गुनासो समाधानमा अस्पताल प्रशासन लाग्नु पर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिए। नयाँ बिल्डिङ सम्पन्न हुने क्रममा रहेको र त्यो सम्पन्न भएपछि विरामीले धेरै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने प्रमुख श्रेष्ठको भनाई थियो। अस्पतालले प्रोटेवल अल्ट्रासाउन्ड मेसिन समेत खरिद गरेर वडा वडामा सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पताल भित्रमा पर्न सफल भएको नगर प्रमुख श्रेष्ठले बताए । उनका अनुसार, चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरिएको छ। अव छिटै कार्डियो सेवा समेत शुरू गर्ने तयारी भइरहेको जानकारी दिदै नगर प्रमुख श्रेष्ठले मुटुका बिरामीलाई लक्षित गरेर ए ग्रेडको एम्बुलेन्स समेत खरिद गर्न लागिएको बताए।
मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख बिजय कृष्ण श्रेष्ठले अत्याधुनिक आइसियु निर्माण भएसंगै बिरामीले आइसियु नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। यो अस्पताललाई विशिष्टिकृत अस्पतालकारूपमा विकास गरिरहेको बताउँदै उप प्रमुख श्रेष्ठले चार बर्ष अघि सम्म घाटामा रहेको अस्पताल पछिल्लो समय सेवा सुविधा विस्तार गरेसंगै नाफा कमाउन सफल भएको बताए ।
अस्पतालका कार्यकारी निर्देशक डा डिके रोशनले यश बर्ष अस्पतालले विकास तथा उन्नतिको बर्ष घोषणा गरिएको जानकारी दिए । सानो हेल्थपोष्टबाट २७ बर्ष अघि शुरू भएको अस्पतालले पछिल्लो चार बर्ष अस्पतालले ठुलो फड्को मारेको बताउँदै डा। रौसनले यसै अवधिमा सिटी स्क्यान,ब्लड बैंक, डाइलासिस सेवा शुरु गरिएको बताए । नगरपालिका, प्रदेश सरकारदेखि केन्द्र सरकारले समेत अस्पतालको विकासमा सहयोग रहेको उनको भनाई थियो।












