काठमाडौँ : स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि र प्रारम्भिक पहिचानको महत्त्वबारे जानकारी फैलाउने उद्देश्यले असोज १७ गते शनिबार ‘पिंक वाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको यो पदयात्रा बिहान ६ बजे काठमाडौँ दरबार स्क्वायरबाट शुरु भई पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न हुनेछ।आयोजकका अनुसार कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरमुक्त भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहनेछ। स्तन क्यान्सर समयमै पहिचान हुन सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारका विषयमा समुदायलाई सचेत गराउनु यो अभियानको मुख्य लक्ष्य छ। यसका साथै क्यान्सरको उपचार र पुनःस्थापनाको क्रममा रहेका बिरामी तथा तिनका परिवारलाई सामाजिक र भावनात्मक सहयोग पुर्याउने सन्देश पनि प्रवाह गरिनेछ।














