काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले आफू संघीयताप्रति पूर्णतः प्रतिबद्ध रहेको र यसलाई कमजोर पार्ने कुनै पनि सोच नभएको स्पष्ट पारेका छन्। बिहीबार सिंहदरबारमा मधेश केन्द्रित दलका प्रतिनिधिहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्। छलफलका क्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावअघि शाहले मधेश पुगेर ‘बलियो संघीयता’ निर्माण गर्ने भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए। जवाफमा शाहले आफूलाई संघीयताविरोधीको रूपमा नलिइदिन आग्रह गरे। प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता महतोले मधेश लगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिएको बताए। उनले शान्ति सुरक्षा कायम गर्ने क्रममा सुरक्षा निकायबाट कम्मरभन्दा माथि गोली प्रहार भएको भन्दै त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग गरे।‘मान्छे मान्छेबाट डराउनुपर्ने अवस्था देश र समाजको हितमा छैन। सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीले थप तदारुकताका साथ पहल गर्नुपर्छ। मधेशकै जनमतका कारण वर्तमान सरकार दुई तिहाइको अवस्थामा पुगेको हो’, उनले भने, ‘त्यसैले जनताको भावना र संघीयतालाई अधिकारसम्पन्न बनाउने कुरामा सरकार गम्भीर हुनुपर्छ ।’प्रधानमन्त्रीले सुनसरी घटनाबारे छानबिन समिति गठन भइसकेको र त्यसको प्रतिवेदन आएपछि दोषीमाथि कारबाही गरिने आश्वासन दिएको महतोले बताए। साथै साम्प्रदायिक दंगा फैलाएर अनुचित लाभ लिन खोज्ने तत्वहरूबाट सतर्क रहन र प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्न प्रधानमन्त्रीले गरेको उनको भनाइ छ।














