सिरहा : दिनभर इँटा-बालुवासँगको सङ्घर्ष, रातभर डाक्टर बन्ने सङ्कल्प। यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्, अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन। सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ। कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ। हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ। यो गाउँका ससाना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले ढल्नै लागेको छ, तर घरभित्र उम्रेको आशाले त्यसलाई टेको दिइरहेको आभाष हुन्छ। यहीभित्र अभाव र अँध्यारोसँग जुध्दै सत्यनारायणले एउटा चम्किलो सपना सजाए ‘डाक्टर’ बन्ने सपना। आज त्यही झुप्रोबाट पलाएको सपनाले पूर्णता पाउने बाटो तय गरेको छ।
यो सफलता त्यत्तिकै मिलेको होइन, सत्यनारायणले सुनाएअनुसार आमा सुनितालाई वर्षौँदेखि टाउको दुख्ने समस्या थियो। बुबा कतारमा पसिना बगाइरहेका वेला, आमालाई अस्पताल लैजाने जिम्मेवारी कलिलो उमेरमै सत्यनारायणको काँधमा आयो। उनी आमाको हात समाउँदै अस्पतालका गल्ली–गल्ली चहार्थे। डाक्टरले औषधि लेखिदिन्थे, औषधि खाँदा केही दिन निको हुन्थ्यो, तर फेरि उही पीडा दोहोरिन्थ्यो। अस्पतालका ती लामा लाइन, बिरामीहरूको चित्कार र आमाको अनुहारमा देखिएको असह्य पीडाले उनको बालमस्तिष्कमा गहिरो चोट पुर्यायो। ती दिनहरू सम्झँदै सत्यनारायण भन्छन्, ‘औषधि खाँदा केही दिन निको हुने, फेरि उही पीडा दोहोरिने। आमाको त्यो पीडाले मेरो बाल्यकालको सोच नै बदलिदियो। अस्पतालमै उभिएर मैले कसम खाएँ, म डाक्टर बन्छु।’ यही अठोटले हो, उहाँको सपना बदलिदिएको, त्यही सपनाले आज जीवनको दिशा नै बदलिदिने आधार तय गरिरहेको छ। सुरुमा उनलाई एमबीबीएसको प्रवेश परीक्षा कसरी दिने, कति खर्च लाग्छ वा कति पढ्नुपर्छ भन्ने केही ज्ञान थिएन। थियो त केवल एउटा दृढ सङ्कल्प।














