चिसोको मारमा विद्यार्थी: बाहिरै परीक्षा सञ्चालन

12

काठमाडौं : केही दिन यता हुस्सु र शितलहर बढेसँगै विद्यालयको पठनपाठन र परीक्षा सञ्चालन प्रभावित बनेका छन्। हुस्सु र शितलहरले मौसममा सुधार नदेखिएको कारण अधिकांश विद्यालय बन्द गरिएको छ भने केही ठाउँमा भने बाहिर घाममै राखेर परीक्षा सञ्चालन गरिएको छ। चिसोको प्रभाव बढी तराई क्षेत्रमा देखिएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले पुष १३ गतेदेखि नै विद्यालय बन्द गरेको छ। उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख अन्जु पाण्डेयले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बाक्लो हुस्सु र शितलहरको कारण मौसममा सुधार नआएकोले जाडों विदाबाट कट्टा हुने गरी पुनः मिति १३ देखि १६ गतेसम्म जाडो विदा दिइएको जानकारी दिइन्। उपमहानगरपालिकाले यसअघि पनि गत शुक्रबार विद्यालय बन्द गरेको थियो। तर,मौसम सुधार नभएपछि पुनः विदा दिएको हो।पर्साको बीरगञ्ज महानगरपालिकाले पुष १३ र १४ गते(आज) जाडो बिदा दिएको छ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेद्धारा जारी सूचनामा भनिएको छ,‘विगत केहि दिनदेखि बढ्दै गएको जाडोका कारणबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका अन्तर्गतका विद्यालयहरूमा थप २ दिन (२०८२ पौष १३ र १४ गते) का लागि वर्षे सट्टे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि आदेशानुसार अनुरोध छ।’शैक्षिक प्रशासन महाशाखा प्रमुख लामिछानेका अनुसार पुस १५ गते तमु ल्होसार सार्वजनिक विदा रहेकोले १६ गतेबाट साविक समय अनुसार नै विद्यालय सञ्चालन हुने छ। त्यस्तै,बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले पनि शितलहर बढेपछि उपमहानगरभित्रका सबै सामुदायकि तथा निजी विद्यालयहरू बन्द गरेको छ। उपमहानगरपालिकाका सूचना अधिकारी लोकेन्द्र बहादुर शाहीले पुस ११ गतेदेखि नै विद्यालय बन्द गरेको जानकारी दिए।