मध्यपुर राष्ट्रपति रनिङ शिल्ड: उपाधी आदर्श माध्यमिक विद्यालयलाई

15

भक्तपुर । चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधी तेस्रोपटक आदर्श माध्यमिक विद्यालयले जितेको छ । मध्यपुर थिमि नगरपालिकाद्धारा आयोजित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लगातार यसवर्ष पनि सानोथिमी स्थित आदर्श मा.वि.ले जित्न सफल भएको हो । प्रतियोगितामा एस.ओ.एस हर्मन माईनर स्कुल दोस्रो, गणेश मा. वि तथा आदर्श मा. वि, लायकुले तेस्रो स्थान हासिल गरेका छन् । मंगलबारबाट शुरु भएको नगरस्तरिय चौथो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको विभिन्न खेलहरुमा प्रतिस्पर्धा गर्दै आदर्श मा.विले १ सय ११ अंकका साथ ५९ पदक जितेर समग्र प्रतियोगिताकै प्रथम स्थान हासिल गरेको हो । ४ विधाका ३३ इभेन्टस अन्तर्गत कुल १३१० खेलहरु समावेश भएको प्रतियोगितामा एस.ओ.एस हर्मन माईनर स्कुलले ८२ अंक सहित ३७ पदक जित्दै द्वितीय भयो भने गणेश मा. वि. नगदेश र आदर्श मा. वि, लायकुले २८/२८ बराबरी अंकका साथ तृतीय भएका हुन् । नगदेशको गणेश मा. वि.ले १८ पदक जित्यो भने आदर्श मा. वि, लायकुले १३ पदक जितेको हो ।
विजयी विद्यालयहरुलाइ शुक्रबार आदर्श मा वि लायकुमा समापन समारोहका बिच मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले राष्ट्रपति रनिङ्ग शिल्ड, प्रमाणपत्र तथा मेडल सहित पुरस्कृत गर्नुभएको छ ।

प्रमुख श्रेष्ठले हरेक वर्ष मथिनपाले वार्षिक क्यालेन्डर अनुसार राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । विद्यार्थीहरुको पठनपाठन र अध्ययनका साथै अतिरिक्त कृयाकलाप बाट उनिहरुमा रहेका खेल प्रतिभा उजागर गरि दक्षता हासिल गराउने उद्देश्य नगरपालिकाको रहेको उहाँले बताउनुभयो । मध्यपुर थिमी नगरपालिका भित्रका ४३ वटा सामुदायिक र निजि विद्यायलयका छात्र ५३९, छात्रा ४०५ गरि कुल ९ सय ४४ खेलाडीहरूले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितको उपाधिका लागि विभिन्न ६ खेलमा प्रतिस्पर्धा गरेका थिए ।

पुस १ गतेदेखि चार दिनसम्म सन्चालन भएको प्रतियोगितामा उसु, कब्बडी, तेक्वान्दो, कराते, एथ्लेटिक्स र भलिबल खेललाइ ४ विधामा विभाजन गरि ३३ इभेन्टअन्तर्गत कुल १३१० खेलहरु भएका थिए । यी खेलहरु थिमिको बोदे मावी बोदे, आदर्श मावी लायकु, सानोथिमी खेल मैदान र आदर्श मावी सानोथिमिमा प्रतिस्पर्धा गराइएको नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुनेश अधिकारीले जानकारी दिनुभयो । यसअघि मङ्गलबार उद्घाटन समारोहको मार्चपासमा आदर्श मा.वि सानोथिमि प्रथम, भक्तपुर निस्ट दोश्रो, विनायक शिक्षा निकेतन तेस्रो र एस.ओ.एस हर्मन माइनर स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।