एमाले नेता तथा कार्यकर्ता महाधिवेशन प्रतिनिधि चयनमा व्यस्त

11

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन्। पार्टीका करिब छ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन्।

महाधिवेशनका लागि यसपटक प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवक प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ भने प्रदेश कमिटीहरूबाट ४५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब एक हजार, विशेष जिल्ला कमिटीबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४० प्रतिनिधि चयन हुने छन्। पार्टी विधानअनुसार महाधिवेशनमा आयोजक केन्द्रीय कमिटीबाट तीन सय ५४ स्वतः प्रतिनिधि हुनेछन्। केन्द्रीय अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद् बाट २५ प्रतिनिधि गरी चार सय ६४ स्वतः प्रतिनिधि हुने छन्।