काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को मानव संसाधन तथा इमिराती मन्त्रालयले जारी गरेको वर्क परमिट (श्रम अनुमति) प्राप्त झन्डै पाँच हजार नेपाली श्रमिक यूएई जान रोकिएका छन् । उनीहरूको वर्क परमिटको अवधि सकिँदै छ । गत भदौ २४ गतेको प्रदर्शन र जेलबाट नेपाली भागेपछि यूएईले नेपालीका लागि श्रम र भिजिट भिसा दिन रोकेको थियो । यूएईको उक्त नीतिका कारण वर्क परमिट प्राप्त नेपाली पनि विदेश जानबाट रोकिएका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर वर्क परमिट जारी भइसकेका नेपाली श्रमिकलाई पठाउन अनुमति दिन अनुरोध गरेको छ । अर्थमन्त्री खनालले यूएईले आफ्नै सुरक्षालाई कारण देखाएर भिसा रोक्ने विषयमा नेपालले हस्तक्षेप गर्न नसक्ने बताए । -इकान्तिपुर













