काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा श्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि पातलेपाखरामा घर खरिद गरेर बस्दै आएका थिए ।
उनी ३४ वर्षकी श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षकी छोरी सरुसँगै बस्दै आएका थिए । केही दिनदेखि सुमित्रा भने बेपत्ता भइन् । वरपर छरछिमेक माइती पक्षले उनलाई नदेखेपछि सुमित्रा हराएकाले खोजी गरिदिन भन्दै १६ भदौमा प्रहरी चौकी बाल्कोटमा मौखिक जानकारी गराएका थिए । त्यसपछि अनुसन्धान गर्दा उनकै घरको भान्छा कोठामा गाडेको अवस्थामा सुमित्राको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख तथा डीएसपी चक्र मल्लले बताए । अनुसन्धानको क्रममा १२ भदौको राति १२ बजेतिर श्रीमान्–श्रीमती विवाद भएको त्यसपछि हत्या गरिएको खुलेको हो । घरभित्र गन्ध आएपछि उत्खनन् गरेर हेर्दा सुमित्राको शव भेटिएको डीएसपी मल्लले अनलाइनखबरलाई बताए । १६ भदौको राति साढे ८ बजेतिर शव उत्खनन् गरेर प्रहरीले निकालेको थियो ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको र दुवैको दोस्रो विवाह भएको प्रहरीले बताएको छ । किरणको पूर्वश्रीमतीबाट २ छोरी र सुमित्राको पूर्वश्रीमान्बाट ३ छोरी रहेको पाइएको छ ।














