काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढीपहिरोपछि जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन् । उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो । नेपाली कामदारहरू सिन्धु खोला किनारमा १०/१२ वटा टेन्ट राखेर बसिरहेका थिए । वर्षासँगै बुधबार बिहान पहिरो खसेपछि उनीहरूको भागाभाग भएको थियो । जाजरकोटको कुशे गाउँपालिका—२ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको स्थानीय तहले उद्धारको पहल गरेको छ ।
सम्पर्कविहीन हुनेहरू
जाजरकोट कुशे गाउँपालिका निवासी
– कर्णबहादुर सिंह
– रामबहादुर सिंह
– मानबहादुर सिंह
– निम सिंह
– रविन सिंह
– नाम र ठेगाना नखुलेका थप ७ जना
जुम्ला तिला गाउँपालिका निवासी
– जनकबहादुर शाही
बर्दियाको मधुवन नगरपालिका निवासी
– नरेन्द्र खड्का
– सरस्वती खड्का
– रोमन खड्का
– अमृता परियार
– सुवास विक
नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् । उक्त घटनामा घाइते मधुवन–८ की लक्ष्मी परियार र मधुवन–७ का भूपेन्द्र खत्रीको हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको पौडेलले बताए । नयाँदिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले पौडी गढवालको घटनामा ५ जना नेपाली बेपत्ता भएको र केही घाइते रहेको जानकारी आएको बताए । घाइतेमध्ये बर्दियाकै विमल विक, गोपाल गुरुङ, रामबहादुर परियार, लक्ष्मी परियार तथा केही नाम नखुलेका नेपाली रहेको जानकारी भारतीय अधिकारीबाट पाएको उनले बताए ।














