माओवादीमा अब नेतृत्व विरुद्ध बोल्न बन्द

12

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले नेतृत्व विरुद्ध बोल्न बन्द गरेको छ । नेतृत्वविरुद्ध बोल्नेहरुलाई चुप लाग्न चेतावनी दिँदै र अध्यक्ष पुष्पकमल दाहालको गुनगान गर्दै पार्टीको बैठक सकिएको हो । माओवादी केन्द्र टुटफुटको शृङ्खलाबाट गुज्रिँदै आएको छ । तर झन्डै चार दशकदेखि दाहालले नै पार्टीको नेतृत्व गरिरहनुभएको छ । दाहाललाई चुनौती दिनेहरु क्रमश बाहिरिँदै गएका छन् । दाहालविनाको माओवादी केन्द्रको राजनीति नै शून्य हुन्छ भने झैं अधिकांश नेता उहाँकै वरिपरि घुमेको देखिन्छ ।

चार दिनसम्म बसेको स्थायी समितिको बैठकमा दाहाललाई चुनौती दिने हिम्मत कुनै नेताले गरेनन् । बरु बैठक अघि सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्नेहरु नै आगामी वैशाखसम्म हुने महाधिवेशनमा पनि दाहाललाई नै नेतृत्व सुम्पने पक्षमा उभिए ।उपमहासचिव जनार्दन शर्माले पार्टीमा उठाउँदै आएको मुद्दालाई नेकपा माओवादी केन्द्रले जथाभावीको संज्ञा दिएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले सार्वजनिकरुपमा अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्ने उपमहासचिव जनार्दन शर्मालाई जथाभावी नबोल्न चेतावनी दिएको हो । यसबाट माओवादी केन्द्रमा पनि फरक मतलाई निषेध गर्ने प्रवृत्ति देखिएको छ ।

बैठकको सुरुकै दिन दाहालले कुनै पनि नेताले बर्जुवा अभिव्यक्ति नदिन चेतावनी दिएपछि अधिकांश नेताले उहाँकै गुनगान गाए । नेतृत्व र पार्टीविरुद्ध बोल्नेले माफी माग्नुपर्नेसम्मका कुरा बैठकमा उठे । शर्माले विगतदेखिनै नेतृत्वमाथि प्रश्न उठाउँदै आउनुभएको थियो र यस पटक पनि असन्तुष्टी राख्नुभयो ।
त्यसो त माओवादी केन्द्रभित्र विगतदेखि नै नेतृत्वको कार्यशैलीलाई लिएर पटकपटक प्रश्न उठ्ने गरेका थिए । तर कुनै पनि बैठकले त्यसको समाधान हुन सकेको थिएन । यस पटक पनि सबै विषयको सुनुवाई नभएको कतिपय नेताहरुको भनाइ छ ।